धनगढी: कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु हुने भएको छ। विश्वविद्यालयमा पहिलोपटक एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रममा सिट निर्धारण भएसँगै सुदूरपश्चिम प्रदेशमै डाक्टर तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बाटो खुलेको हो।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि सिट निर्धारण गरेपछि पठनपाठनको तयारी तीव्र पारिएको छ। आयोगको तोकिएको क्यालेन्डरअनुसार माघको अन्तिम हप्तादेखि नियमित कक्षाहरू सञ्चालनमा आउने विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दले जानकारी दिए।
गेटामा पहिलो ब्याचका लागि आयोगले एमबीबीएसतर्फ ५० सिट तोकेको छ। त्यस्तै नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० गरी पहिलो वर्ष कुल ९० जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन्। गेटामा डाक्टरी पढाइका लागि सिट स्वीकृत हुनु सुदूरपश्चिमको स्वास्थ्य र शिक्षा क्षेत्रका लागि कोशेढुङ्गा साबित हुने रजिस्ट्रार चन्दको भनाइ छ।
विश्वविद्यालयले अध्यापनसँगै शिक्षण अस्पतालको सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ। हाल ६२२ वटा बेड जडान भइसकेको अस्पतालमा यसै वर्षदेखि ३०० शय्या पूर्ण रूपमा सञ्चालनमा ल्याइने र ५०० शय्याको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाउने तयारी छ। साथै, सर्वसाधारणका लागि यसै वर्षदेखि सिटी स्क्यान, एमआरआई र क्याथ ल्याब जस्ता आधुनिक उपचार सेवाहरू पनि सुरु गरिने विश्वविद्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्