यहि भदौ ३० गते हुँदै ‘सुदूरपश्चिम गाईजात्रा-२’, टिकटको २५ प्रतिशत रकम भोटेकोशी बाढीपीडितलाई

धनगढी : वैजनाथ सञ्चार प्रालि धनगढीको आयोजनामा यही भदौ ३० गते धनगढीस्थित एसटिएस सिनेमा हलमा ‘सुदूरपश्चिम गाईजात्रा–२’ आयोजना हुने भएको छ। यसअघि भदौ १७ गते आयोजना गर्ने तय भएको कार्यक्रम रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै स्थगित कार्यक्रम भदौ ३० गते साँझ ५ बजे एसटिएस सिनेमा हलमा आयोजना गर्ने जानकारी दिएको हो।

कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहनेछ। यस्तै जोगेन्द्र पानवाला, मुलासागलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमकी मूल संयोजक तथा वैजनाथ सञ्चार प्रालिकी प्रबन्ध निर्देशक सरस्वती खड्का भट्टले देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला जनताको दुःखमा साथ दिनुपर्ने दायित्वबोध गर्दै यसअघि कार्यक्रम स्थगित गरिएको बताइन्।

उनले भनिन्, “कलाकार समाजका संवेदनशील प्रतिनिधि भएकाले देश र जनताको दुःखमा साथ दिनु हाम्रो पनि दायित्व हो। त्यसैले निर्धारित कार्यक्रम स्थगित गरेका थियौँ। अहिले भदौ ३० गते कार्यक्रम गर्ने नयाँ मिति तय गरेका छौँ।”

यस्तै कार्यक्रमका आर्थिक संयोजक सुभेष पाठकले भोटेकोशीमा आएको बाढीका कारण निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको बताए। विपत्तिको समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा पनि पीडितको दुःखमा सबैले साथ र सहयोग गर्नुपर्ने महसुस गर्दै आयोजक टिमकै निर्णयअनुसार कार्यक्रम स्थगित गरिएको उनले बताए।

उनले ‘सुदूरपश्चिम गाईजात्रा–२’ मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक तथा समसामयिक विषयवस्तुलाई हास्यव्यङ्ग्यमार्फत प्रस्तुत गर्दै सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको बताए। कार्यक्रमबाट प्राप्त हुने टिकट बिक्रीको २५ प्रतिशत रकम भोटेकोशी बाढीपीडितको राहत कोषमा जम्मा गरिने जानकारी पनि उनले दिए।

कार्यक्रम करिब १५ लाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा मुख्य प्रायोजकका रूपमा मायामेट्रो हस्पिटल प्रालि, प्रायोजकका रूपमा चैतन्य पाठशाला तथा सह–प्रायोजकका रूपमा सुदूरपश्चिम चलचित्रकर्मी संघ रहेका छन्। यस्तै विभिन्न स्थानीय तह, प्रवर्द्धक तथा सहयोगी संस्थाहरूले समेत कार्यक्रमलाई सहयोग गरेका छन्।

मुख्य प्रायोजक मायामेट्रो हस्पिटलका प्रबन्ध निर्देशक धीरेन्द्र साउदले गाईजात्रा हास्यव्यङ्ग्यमार्फत सामाजिक विषयवस्तुलाई उठाउने महत्वपूर्ण कार्यक्रम भएको बताए। उनले भोटेकोशी बाढीको पीडा र त्यससँग सम्बन्धित विषयवस्तु पनि कार्यक्रममा समेटिने विश्वास व्यक्त गरे।

त्यस्तै, प्रायोजक चैतन्य पाठशालाका प्रधानाध्यापक प्रेमनिधि ओझाले कार्यक्रमको सफलताको शुभकामना दिँदै हास्यव्यङ्ग्यले मानिसलाई मानसिक रूपमा समेत राहत दिने बताए। उनले प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लिनको भनाइ स्मरण गर्दै हास्यव्यङ्ग्यले दुःख र तनावमा रहेका मानिसलाई केही समय भए पनि राहत प्रदान गर्न सक्ने धारणा व्यक्त गरे।

आयोजकले कार्यक्रमका दर्शक, शुभेच्छुक, सहयोगी, सञ्चारकर्मी तथा सम्पूर्ण शुभचिन्तकलाई भदौ ३० गते साँझ ५ बजे एसटिएस सिनेमा हलमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार