सरकारले विश्व बैंकसँग ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विश्व बैंकले ग्रेटर लुम्बिनी परियोजनाको लागि दिने ८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिइन्।
सरकारले विश्व बैंकले दिने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेपछि ग्रेटर लुम्बिनी परियोजना अगाडि बढ्ने भएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीलाई समेटेर बनाइने ग्रेटर लुम्बिनी परियोजनाको लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलको पहलमा गत वर्ष नै विश्व बैंकसँग साढे १२ अर्ब बराबरको परियोजना प्रस्ताव गरिएको थियो।
सरकारको सोही प्रस्तावलाई स्वीकार गर्दै विश्व बैंकले पनि ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनको लागि ऋण उपलब्ध गराउने निर्णय गरेको थियो।
विश्व बैंकले गरेको ऋण उपलब्ध गराउने निर्णयलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकार गरेको हो।
सरकारले ऋण स्वीकार गरेपछि अब परियोजना कार्यान्वयनका लागि सम्झौता हुनेछ।
परियोजना कार्यान्वयनको लागि सम्झौता भएपछि विश्व बैंकको उक्त ऋणबाट कपिलवस्तु, रूपन्देही र नवलपरासीका बुद्धसँग सम्बन्धित क्षेत्रहरूको विकासमा खर्च गरिने छ।
लुम्बिनी विकास कोषका अनुसार ग्रेटर लुम्बिनी परियोजना अन्तर्गत रूपन्देही, कपिलवस्तु र नवलपरासी गरी तीन वटा जिल्लाका बुद्धसँग सम्बन्धित स्थलहरूमा पर्यटकहरूसँग सम्बन्धित पूर्वाधारका काम हुनेछन्।
यो परियोजना सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयमार्फत कार्यान्वयनमा जाने छ भने परियोजना कार्यान्वयनमा लुम्बिनी र बुद्धसँग सम्बन्धित चार वटा नगरपालिकाहरू लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, रामग्राम र कपिलवस्तु नगरपालिका तथा पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र पर्यटन बोर्ड सहभागी हुनेछन्।
परियोजना अन्तर्गत तीन वटा जिल्लाका चार वटा नगरपालिकाभित्रका सडक, नाली, बसपार्क, विद्युतीकरण, बौद्ध तीर्थयात्रीहरूका लागि ध्यान केन्द्र, विश्राम स्थल, क्याफे, सूचना केन्द्र, स्थानीय उत्पादनको बिक्री केन्द्र लगायत पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि उक्त रकम खर्च हुनेछ।
लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो भने यहाँको मायादेवी मन्दिर, बुद्ध जन्मस्थल, पवित्र पुष्करिणी पोखरी र अशोक स्तम्भ ऐतिहासिक महत्वका सम्पदा हुन्। गौतम बुद्धको मावली देवदहमा बुद्धसँग जोडिएका ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू छन्।
कपिलवस्तुको तिलौराकोट प्राचीन शाक्य राज्यको राजधानीका रूपमा चिनिन्छ, जहाँ राजकुमार सिद्धार्थले बाल्यकाल बिताएका थिए।
पश्चिम नवलपरासीको रामग्राम स्तूप बुद्धको मूल अवशेष सुरक्षित रहेको एक मात्र स्तूप मानिन्छ। यसको गुरूयोजना तयार भइसकेको छ। परियोजना पहिलो चरणमा यी मुख्य बौद्ध सम्पदालाई केन्द्रमा राखी कार्यान्वयन हुनेछ।
यसअघि परियोजना कार्यान्वयनका लागि बुद्ध सर्किट अन्तर्गतका चार वटै पालिकाले प्रत्येक पालिकाका लागि ८ मिलियन अमेरिकी डलर बजेट सुनिश्चित गर्न विश्व बैंकसमक्ष संयुक्त ज्ञापन पत्र बुझाएका थिए।
लगानी स्रोत खोज्ने, थप क्षेत्र समावेश गरी पर्यटन गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले विज्ञ स्तरमा निरन्तर अध्ययन र अन्तरक्रिया हुँदै आएका थिए। पूर्व अर्थमन्त्री पौडेलको पहलमा विश्व बैंकका विज्ञहरू समेत संयुक्त अध्ययनमा सहभागी भएका थिए।
लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा स्थापित गर्दै समग्र क्षेत्रको पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र दिगो सहरी विकासलाई एकीकृत रूपमा अघि बढाउनुको साथै सम्पदा संरक्षण, दिगोपन, सुशासन र समुदायको जीविकोपार्जनलाई परियोजनाको मुख्य प्राथमिकतामा राखिएको छ।
पूर्व अर्थमन्त्री पौडेलका अनुसार बहु क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय साझेदारीमार्फत लुम्बिनीलाई केन्द्रमा राखेर धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र दिगो आर्थिक समृद्धिको नमुना क्षेत्र बनाउने गरी बृहत् लुम्बिनी परियोजना अगाडि सारिएको थियो।
उनका अनुसार पर्यटकीय गन्तव्यहरूको पूर्वाधार सुदृढीकरण र सांस्कृतिक सम्पदा संरक्षण गर्दै धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको आधारमा लुम्बिनीलाई विश्व शान्ति र दिगो पर्यटनको केन्द्र बनाउने परियोजनाको लक्ष्य रहेको छ।




प्रतिक्रिया दिनुहोस्