काठमाडौं: रास्वपा सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग मुद्दा सर्वोच्च अदालतमा फेरि सुनुवाइको लागि पेशीमा पुगेको छ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा मुद्दा आज १२ नम्बरमा परेको छ। यसअघि लगातार चारपटक मुद्दा हेर्न समय नपरेकाले स्थगित भएको थियो।
यो मुद्दा युवराज पौडेलले दुई वर्षअघि दायर गरेका थिए। उनी लामिछानेले नेपाली र अमेरिकी दोहोरो राहदानी लिएका र प्रयोग गरेका भन्दै रिट दायर गरेका थिए। रिटमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने निर्णय कानुनविपरीत भएको दाबी गरिएको छ।
यसअघि तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए। त्यस निर्णयविरुद्ध युवराजले सर्वोच्चमा अपील गरेका थिए।
सर्वोच्चले यसअघि तीन पटक फाइल माग गर्ने निर्णय गरिसकेको थियो। २२ चैत २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। अदालतले महान्यायाधिवक्ता कार्यालयसँग मुद्दा नचलाउने निर्णयको कारण सोध्दा, अब दोहोरो सुनुवाइ हुन लागेको छ।




प्रतिक्रिया दिनुहोस्