८ चैत, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेको पुस्तक ‘विचित्रको लोकतन्त्र : गजबको निर्वाचन’ सार्वजनिक भएको छ ।
परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबीचको अन्तरसम्बन्धलाई विश्लेषणात्मक विषयवस्तु समेटेर पुस्तक प्रकाशित गरिएको हो । थपलियाले आफ्नो पुस्तकमार्फत लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझाउने प्रयास गरेको बताए ।
उनले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा पुस्तक लेख्न शुरु गरेका हुन्, पुस्तकमा इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको अवस्था समेटिएको छ ।
उनले पुस्तकमा अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति तथा डिजिटल युगका चुनौतीहरूबारे विस्तृत विवरण उल्लेख गरेका छन् । पुस्तकमा भारत, थाइल्याण्ड, भुटान, युरोप, अष्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लोकतन्त्रका शक्ति र विरोधाभासलाई प्रस्तुत गरेका छन् ।
लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको विषयवस्तु समेटिएको पुस्तकले नेपालजस्ता विकासशील लोकतन्त्रका लागि संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टिकोण प्रदान गर्ने उनको अपेक्षा छ ।
लोकतन्त्रलाई जीवित चेतनाका रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक प्रक्रियाभन्दा फराकिलो आयाममा हेर्न चाहने प्रत्येकलाई पुस्तक उपयोगी हुने उनले बताए ।
पुस्तकका लेखक थपलियाले आफ्नो कार्यकालमा संघीय संरचनाअनुसारका प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका थिए । विचित्रको लोकतन्त्रस् गजबको निर्वाचन कृति पूर्व प्रमुख निर्वाचन आयुक्त थपलियाको छैटौं प्रकाशन हो ।
साङ्ग्रिला बुक्सले पुस्तक बजारमा ल्याएको हो ।




प्रतिक्रिया दिनुहोस्