नेपाल आयल निगमले मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ तथा ग्यासको प्रयोग आवश्यक मात्रामा सीमित गर्न उपभोक्तालाई आग्रह गरेको छ।
निगमले बुधबार एक सूचना जारी गर्दै हाल पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री–वितरण सामान्य रूपमा भइरहेको जनाएको छ।
तर नेपाल पूर्ण रूपमा पेट्रोलियम पदार्थको आयातमा निर्भर रहेको तथा मध्यपूर्व क्षेत्रको असहज अवस्थाले अन्तर्राष्ट्रिय बजारमा असर पार्न सक्ने भएकाले पूर्वसतर्कता अपनाउन आवश्यक रहेको निगमले उल्लेख गरेको छ।
निगमका अनुसार केही देशहरूले पेट्रोलियम पदार्थको बिक्री–वितरण तथा प्रयोगमा नियन्त्रणात्मक उपाय अवलम्बन गर्न थालेकाले नेपालमा पनि सम्भावित प्रभावलाई ध्यानमा राख्दै इन्धन र ग्यासको प्रयोगमा संयमता अपनाउनुपर्ने देखिएको हो।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ तथा ग्यास आवश्यक मात्रामा मात्र प्रयोग गर्न, एक सिलिन्डरले काम चल्ने अवस्थामा अर्को सिलिन्डर भर्न नलगाउन तथा अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ।
साथै सकेसम्म ग्यासको सट्टा विद्युत प्रयोग बढाउन, सवारी साधनमा साझा यात्रा(राइड सेयरिङ)को व्यवस्था गर्न तथा विद्युत उपलब्ध हुँदा जेनेरेटर प्रयोग नगर्न पनि सुझाव दिएको छ।
औद्योगिक प्रयोजनमा पनि पेट्रोलियम पदार्थ र ग्यासको प्रयोग सकेसम्म कम गर्न तथा आपूर्ति व्यवस्थापनलाई सहयोग गर्न निगमले उद्योगी व्यवसायीलाई अनुरोध गरेको छ।
यसैबीच, कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ वा ग्यास भण्डारण गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डर अनधिकृत रूपमा बजारमा ल्याउने कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने निगमले चेतावनी दिएको छ।




प्रतिक्रिया दिनुहोस्