काठमाण्डाैः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।
विज्ञापन
केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भए पनि अहिले ती ठाउँमा मतदान चलिरहेकाे छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा थोरै समयका लागि मतदान रोकिएको थियो । तर स्थानीय प्रशासनको सक्रियता र आयोगको तत्काल सहजीकरणका कारण ती ठाउँहरूमा मतदान भइरहेकाे छ ।
यसैगरी ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लाहरूमा मतदाताहरूले स्थानीयस्तरका केही मागहरू राखेको विषय पनि आयोगको जानकारीमा आएको उनले बताए। ती ठाउँहरूमा स्थानीय प्रशासनले मतदाताहरूसँग समन्वय र सहजीकरण गरिरहेको र ती विषयहरू छिट्टै समाधान हुने आयोगले जनाएको छ ।

कुनै पनि ठूला अप्रिय घटना नभएको र सानातिना समस्यालाई स्थानीयस्तरमै समाधान गरी मतदान प्रक्रियालाई निरन्तरता दिइएको आयोगको भनाइ छ ।
.jpeg)
देशभरका सबै २३ हजार ११२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता भइरहेको हुनाले देशभरको शान्ति सुरक्षा र मतदानको वातावरण निकै आशालाग्दो रहेको आयोगले निष्कर्ष निकालेको छ ।




प्रतिक्रिया दिनुहोस्