पोखरा । आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट साँझ ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट साँझ ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।
उनका अनुसार बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए । “प्रहरीबाट प्राप्त जानकारीअनुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्,” उनले भने ।
उक्त बसको चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए । उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौंका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
महानगरप्रमुख आचार्यद्वारा दुःख व्यक्त
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुुवाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् ।
महानगरप्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनुभएका १७ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
“राति करिब १ः३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नं को यात्रुवाहक बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु,” उनले लेखेका छन् । रासस




प्रतिक्रिया दिनुहोस्