अत्तरिया: कैलालीको अत्तरियामा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथुन प्रतियोगिताको उपाधि अक्कल बहादुर पालले जितेका छन्। दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा गठन गरिएको दुर्गालक्ष्मी पूर्व विद्यार्थी मञ्चको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगितामा उनले पहिलो स्थान हासिल गरेका हुन्।
विद्यालय अगाडिबाट सुरु भएको साढे ८ किलोमिटर दूरीको दौड गोदावरी पुलमा पुगेर सम्पन्न भएको थियो। पालले निर्धारित दूरी २९ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारे।
प्रतियोगितामा सुनिल सुनार दोस्रो हुँदै ३३ मिनेटमा दौड पूरा गरे भने प्रदीप खत्री तेस्रो हुँदै ३७ मिनेटमा अन्तिम बिन्दुमा पुगे। उपाधिसँगै पालले नगद २५ हजार ५५५ रुपैयाँ प्राप्त गरे। दोस्रो भएका सुनारले १५ हजार ५५५ रुपैयाँ र तेस्रो स्थान हासिल गरेका खत्रीले ५ हजार ५५५ रुपैयाँ पुरस्कार पाए।
उत्कृष्ट महिला सहभागीतर्फ सृजना पाण्डेय पुरस्कृत भइन्। पुरुष धावकहरूसँगै दौडिएकी उनले नगद ५ हजार ५५५ रुपैयाँ प्राप्त गरिन्। १४ जना महिला धावक अन्तिम बिन्दुमा पुगेकामा सबैभन्दा पहिले पुग्ने महिला भएकाले उनलाई पुरस्कृत गरिएको प्रतियोगिता संयोजक प्रेम भट्टले जानकारी दिए।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको थियो। विद्यालयका पूर्व विद्यार्थीबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टले बताए। उनका अनुसार यस कार्यक्रमले देश तथा अन्तर्राष्ट्रिय स्तरमा रहेका पूर्व विद्यार्थीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ।




प्रतिक्रिया दिनुहोस्