धनगढीः सुदूरपश्चिम प्रदेशमा सडक र पुलका १४५ वटा आयोजना बहुवर्षीय ठेक्कामा अल्झिएका छन्। २० अर्ब ८ करोडभन्दा बढी लागत अनुमान गरिएका यी आयोजना १४ अर्ब ३६ करोड रुपैयाँमा ठेक्का लगाइए पनि ठूलो संख्यामा समयमै सम्पन्न भएका छैनन्।
प्रदेश सरकारका अनुसार ३९ वटा ठेक्का जीर्ण भइसकेका छन् भने २८ वटा आयोजनाको म्याद पटक–पटक थपिएको छ। तीमध्ये पाँच वटा ठेक्का प्रदेश स्थापना हुनुअघि संघीय सरकारले लगाएका हुन्, जसलाई हाल प्रदेश सरकारले संघीय सशर्त अनुदानबाट सञ्चालन गरिरहेको छ।
समयमै आयोजना सम्पन्न नहुँदा प्रदेश सरकारमाथि आर्थिक दायित्व थपिँदै गएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा बहुवर्षीय ठेक्काको दायित्व २ अर्ब ३ करोड रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्षमा बहुवर्षीय आयोजनाका लागि १ अर्ब ४५ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ।
मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्काअन्तर्गत हालसम्म ११ अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ। पुराना ठेक्का समयमा सम्पन्न नहुँदा नयाँ आयोजना अघि बढाउन नसक्ने अवस्था आएको र मन्त्रालयको ठूलो बजेट पुरानै ठेक्काको भुक्तानीमा खर्चिनु परेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्