सारांश
- चितवन क्षेत्र नं. ३ मा नेकपा उम्मेदवार रेणु दाहालले चुनावी अभियानलाई तीव्रता दिएकी छिन्।
- उनले घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा र सुझावहरू सङ्कलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेकी छन्।
- दाहालले कृषि, पर्यटन र शिक्षालाई जोडेर चितवनको विकास गर्ने र निकुञ्ज ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
चितवन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहौल तातेको छ । यसैक्रममा नेकपाका उम्मेदवार रेणु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।
भरतपुर महानगरपालिकाकी निवर्तमान मेयरसमेत रहेकी दाहालले घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू सङ्कलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेकी छन् ।
भरतपुर वडा नं. २६ लाहुरे चोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोल पुगेर दाहालले आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताएकी छन् ।
कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै उनले निकुञ्ज ऐनमा संशोधन गरी नयाँ ऐन ल्याउनुपर्ने उल्लेख गरेकी छन् । दाहालले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।
चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोभिता गौतम पनि चुनावी मैदानमा रहेकी छन् । सो क्षेत्रमा यसअघिको निर्वाचनमा राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थिए ।




प्रतिक्रिया दिनुहोस्