धनगढीः कैलाली–५ सुदूरपश्चिमकै सबैभन्दा चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक हो। प्रदेशकै एक मात्र उपमहानगर धनगढी समेटिएको यो क्षेत्र आर्थिक, शैक्षिक, स्वास्थ्य तथा व्यापारिक हिसाबले रणनीतिक महत्व राख्छ। २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर यहाँ चुनावी दौडधुप सुरू भएको छ।
को–को छन् प्रतिस्पर्धामा?
यसपटक नेपाली काँग्रेसले प्रदेश महामन्त्री नरनारायण शाहलाई उम्मेदवार बनाएको छ। अर्कोतर्फ डोटीबाट लगातार तीन पटक जित निकालिसकेका प्रेमबहादुर आले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मैदानमा छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना उम्मेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आनन्द चन्द प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा यी चार उम्मेदवारबीच हुने आँकलन गरिएको छ। कैलाली-५ मा राप्रपाका रोशन शाही, नेकपा माओवादीका बबरजङ्ग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, निर्दलीय प्रत्यासी प्यारेलाल राना लगायतका उम्मेदवारहरूले पनि आफूहरूले चुनाव जित्ने दाबी गर्दै आएका छन्।
उस्तै एजेण्डा, फरक प्राथमिकता
कैलाली–५ का उम्मेदवारहरूको चुनावी एजेण्डा हेर्दा धेरै विषयमा समानता देखिन्छ। उनीहरूले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति,फाप्ला क्रिकेट मैदान निर्माण,गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र धनगढीलाई महानगरमा स्तरोन्नति गर्ने अजेण्डा अगाडि सारेका छन्।
यी विषय सबैजसो उम्मेदवारका साझा प्रतिबद्धता बनेका छन्। तर कार्यान्वयनको मोडालिटी र प्राथमिकतामा भने फरक–फरक दृष्टिकोण देखिन्छ।
काँग्रेस उम्मेदवार शाहले राष्ट्रिय महत्वका आयोजनामा प्रभावकारी आवाज उठाउने र धनगढीमै सचिवालय स्थापना गरी जनताको समस्या स्थानीयस्तरमै समाधान गर्ने योजना अघि सारेका छन्। चिसापानी–गड्डाचौकी सडकलाई ६ लेनमा विस्तार, त्रिनगर भन्सार स्तरोन्नति, पश्चिम सेती, पञ्चेश्वर, सुख्खा बन्दरगाहा र दैजी–छेला औद्योगिक क्षेत्रलाई गति दिने उनको प्रतिबद्धता छ।
एमाले उम्मेदवार ढुंगाना ले धनगढीलाई सुविधासम्पन्न महानगर बनाउने, स्वास्थ्य बीमा प्रभावकारी बनाउने, सेती अस्पताललाई संघीय मातहत ल्याउने तथा गेटामा एमबीबीएस अध्ययन सुरु गर्ने योजना सार्वजनिक गरेका छन्। सूचना प्रविधि, कृषि, शिक्षा र रोजगारी सिर्जनालाई उनले प्राथमिकतामा राखेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका आलेले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन्। बजेट अभावका कारण रोकिएका आयोजना अघि बढाउने, धनगढी विमानस्थल विस्तार गर्ने तथा सिकलसेल बिरामीका लागि विशेष वार्ड स्थापना गर्ने उनको योजना छ।
रास्वपा उम्मेदवार चन्द जनस्वास्थ्य अभियानकर्ताका रूपमा चिनिन्छन्। सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई मूल आधार बनाउँदै उनले सेती अस्पताललाई गेटा विश्वविद्यालय मातहत ल्याई स्तरोन्नति गर्ने र व्यवस्थित सहर विकासको मोडेल लागू गर्ने बताएका छन्।
मतदाताको मनोविज्ञान
कैलाली–५ मा विकासका मुद्दा नयाँ होइनन्। विगतका निर्वाचनमा पनि यिनै एजेण्डा दोहोरिएका थिए। त्यसैले यसपटक मतदाताले केवल प्रतिबद्धता होइन, कार्यान्वयन क्षमता, विगतको कार्यशैली, पहुँच र विश्वसनीयतालाई आधार बनाएर निर्णय गर्ने संकेत देखिन्छ।
धनगढीको तीव्र शहरीकरण, स्वास्थ्य र शिक्षामा बढ्दो दबाब, सीमावर्ती व्यापार व्यवस्थापन र रोजगारी सिर्जनाजस्ता चुनौती समाधान गर्न सक्षम नेतृत्वको खोजी मतदातामाझ छ।
२१ फागुनको निर्वाचनले कैलाली–५ को प्रतिनिधित्व मात्र तय गर्ने छैन, सुदूरपश्चिमको विकासको प्राथमिकता र दिशासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ। उस्तै एजेण्डाबीच फरक पृष्ठभूमि र नेतृत्व शैली भएका उम्मेदवारमध्ये कसले मतदाताको विश्वास जित्छन् भन्ने चासो अहिले सबैको केन्द्रमा छ।




प्रतिक्रिया दिनुहोस्