आइसिसी टी-२० विश्वकप २०२६ को तेस्रो खेलमा नेपालले आइतबार विहान ११ बजे वेस्ट इन्डिजसँग आफ्नो तेस्रो खेल खेल्दैछ। भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे रंगशालामा नेपालले तेस्रो खेल हुनुअघि नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालको प्रयोगबारे आफ्नो धाराणा सार्वजनिक गरेका छन्।
कतिपय खेलाडीले विश्वकपकै बेला सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा प्रश्न उठेपछि उनले सामाजिक सञ्जालको प्रयोगबारे असन्तुष्टि व्यक्त गरे।
‘नेपालमा सामाजिक सञ्जाल एउटा ठूलो हिस्सा हो भन्ने म बुझ्छु। मेरो लागि सामाजिक सञ्जाल ठूलो ‘डिस्ट्र्याक्शन’ हुन सक्छ। यदि हामी टोलीको आवश्यकता र खेल भन्दा बढी सामाजिक सञ्जालमा मानिसहरूले के भनिरहेका छन् भन्ने कुरामा ध्यान दिन्छौं भने, हामी आफ्नो खेलबाट विचलित हुन्छौं,’ उनले शनिबार वानखेडे रंगशालामा पत्रकारहरूसँग भने।
उनले कतिपय खेलाडीले प्रायोजकको कारणले सामाजिक सञ्जालमा पोस्ट गरेको हुन सक्ने बताए।
उनले भने, ‘धेरै खेलाडीहरू सामाजिक सञ्जालमा प्रायोजकका कारण निर्भर छन् भन्ने मलाई थाहा छ, तर विश्वकपमा क्रिकेट नै मुख्य कुरा हो। यदि हामीले जितिरह्यौं भने ‘लाइक’ आफैं बढ्छ। हामीले इंग्ल्याण्डलाई हराउन लागेको बेला संसारभरबाट प्रशंसा पायौं, तर हामीले यो बिर्सनु हुँदैन कि हामीले त्यो खेल हारेका थियौं। त्यो उच्च उत्साहबाट ४ दिनपछि यति तल झर्नुले मानसिक दृढता देखाउँदैन। हामीले यसलाई सुधार गर्न आवश्यक छ।’
यसअघि यसविषयमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेललाई पनि इटालीविरूद्धको खेलअघि सोधिएको थियो। त्यतिबेला उनले सामाजिक सञ्जाल चलाउने कुरा खेलाडीको ‘व्यक्तिगत विषय’ भएको प्रतिक्रिया दिएका थिए।
टी-२० विश्वकप चलिरहेको नेपाली राष्ट्रिय टोलीका कतिपय खेलाडीले रंगाशालाको मात्र होइन मुम्बईमा घुमेका तस्बिरहरू समेत पोस्ट गरेका थिए।
रोहितले सामाजिक सञ्जालको विषयमा भनेका थिए, ‘मलाई लाग्छ कि यो प्रत्येक व्यक्तिको आफ्नो सोचमा भर पर्छ। केही खेलाडी सामाजिक सञ्जाल हेर्छन्, केहीले हेर्दैनन्। त्यसैले यो पूर्णरूपमा व्यक्तिगत कुरा हो।’




प्रतिक्रिया दिनुहोस्