क्रिकेट रंगशाला निर्माणदेखि विमानस्थल विस्तारसम्म: प्रेम आलेको २० बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढीः कैलाली-५ मा उम्मेदवार रहेका प्रेमबहादुर आलेले धनगढीको समग्र विकासका लागि महत्वाकांक्षी योजनासहित २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेका आलेले शनिबार धनगढीस्थित पार्टी कार्यालयमा आफ्नो योजना सार्वजनिक गरेका हुन्।

उनले लामो समयदेखि चर्चामा रहेको धनगढीको फाप्ला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। सबै अध्ययन पूरा भए पनि बजेट अभावका कारण रोकिएको उक्त परियोजना आफू निर्वाचित भएमा अगाडि बढाइने उनले बताएका छन्। धनगढीलाई ‘क्रिकेट हब’का रूपमा विकास गर्दै युवालाई खेलकुदमार्फत अनुशासन र राष्ट्र निर्माणमा जोड्ने योजना पनि उनले प्रस्तुत गरेका छन्।

त्यस्तै, धनगढी विमानस्थलको धावनमार्ग २५०० मिटरमा विस्तार गरी ठूला जहाज अवतरण गर्न मिल्ने बनाइ सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवासँग जोड्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। आफू मन्त्री हुँदा विमानस्थल विस्तारका लागि दुई अर्ब पाँच करोड रुपैयाँ व्यवस्थापन गरिएको तर पछि बजेट रकमान्तर हुँदा योजना रोकिएको उनले उल्लेख गरे।

स्वास्थ्य क्षेत्रअन्तर्गत शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० देखि ६०० शैय्याको अस्पताल सञ्चालनमा ल्याई एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सुरु गर्ने योजना उनले अघि सारेका छन्। सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत सञ्चालन गरी विशिष्टिकृत सेवा विस्तार गरिने र सिकलसेल बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिने पनि उनको प्रतिबद्धतामा उल्लेख छ।

सडक पूर्वाधारतर्फ धनगढी–खुटिया–दिपायल–बझाङ–चैनपुर हुँदै उरै जोड्ने छोटो दूरीको सडक शीघ्र सम्पन्न गर्ने उनले बताएका छन्। यसले प्रदेशको आर्थिक तथा धार्मिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालमै निर्माण सम्पन्न गर्ने अठोट व्यक्त गरेका छन्।

नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि मोहना, खुटिया, घुरही, घुराहा र शिवगंगा नदी किनारमा हरियालीसहित तटबन्ध निर्माण गरिने उनले बताएका छन्। साथै विभिन्न स्थानमा पक्की पुल निर्माण, ग्रामीण सडक स्तरोन्नति र धनगढी–३ मा प्रादेशिक बसपार्क निर्माण कार्यान्वयनमा लैजाने योजना पनि सार्वजनिक गरेका छन्।

पर्यटन प्रवर्द्धनअन्तर्गत धनगढी–७ को वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ। भूमिहीन, सुकुम्बासी, मुक्तकमैया तथा लालपुर्जा नपाएकालाई लालपुर्जा वितरण, सुरक्षित आवास कार्यक्रम लागू तथा आधारभूत पूर्वाधारको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

कृषि क्षेत्रमा आधुनिक प्रविधि विस्तार, सिँचाइ व्यवस्थापन र मल–बीउको सहज उपलब्धता सुनिश्चित गरिने उनले बताएका छन्। महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार र अवसर सुनिश्चित गरिने तथा थारू लगायत स्थानीय समुदायको भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक संग्रहालय निर्माणमा पहल गरिने उल्लेख गरिएको छ।

उद्योग, व्यापार र रोजगारी अभिवृद्धिका लागि साना तथा मध्यम उद्योग प्रवर्द्धन र स्थानीय उत्पादनको बजार सुनिश्चितता गरिने उनले बताएका छन्। धनगढी चटकपुरस्थित नेपाल आयल निगमको डिपोलाई जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा सार्न पहल गरिने पनि उनले जनाएका छन्।

पछिल्ला तीन निर्वाचनमा डोटीबाट विजयी भएका आलेले यसपटक कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवारी दिनुको कारण धनगढीको विकासमा आफ्नो आवश्यकता रहेको बताएका छन्। जनतासँगको सम्बन्ध र निरन्तर साथकै कारण आफूले अघिल्ला निर्वाचनमा सफलता पाएको उनको दाबी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार