बंगलादेशमा बिहीबार भइरहेको निर्वाचन क्रममा दुई समूहबीच झडप हुँदा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ।
खुलना सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको झडपमा बिएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। उनी खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव थिए।
स्थानीय बिएनपी नेताहरूले झडप क्रममा धक्का लागेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन्।
घटना बिहीबार बिहानको हो। खुलना महानगर प्रहरी (केएमपी) का आयुक्त मोहम्मद जहीदुल हसनले बिबिसी बांग्लासँग घटनाको पुष्टि गरेका छन्।
उनका अनुसार बिहान दुवै पक्षबीच भनाभन भएको थियो। त्यस क्रममा कोचीको स्वास्थ्य अवस्था बिग्रिएको र अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
यसैबीच खुलना–२ निर्वाचन क्षेत्रका बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातका पक्षमा प्रचार गर्न थालेका थिए। त्यस क्रममा कोचीले उनलाई रोकेपछि विवाद सुरू भएको थियो।
मोनीका अनुसार विवाद क्रममा कोचीलाई धक्का लागेर उनी रूखमा ठोक्किएका थिए। त्यसपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको हो।
उनलाई खुलना सिटी मेडिकल कलेज अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
प्रहरीले भने बिएनपी नेताको रूखमा ठोक्किएर चोट लागेको थियो वा थिएन भन्नेबारे हालसम्म स्पष्ट रूपमा केही बताएको छैन।
विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिनापछि बंगलादेशमा निर्वाचन भएको हो।
देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको बंगलादेशबाट प्रकाशन हुने अनलाइन डेली स्टारले जनाएको छ।
त्यहाँको निर्वाचन आयोगका अनुसार मतदानको समय अपराह्न साढे ४ बजेसम्मका लागि तोकिएको छ।
मतदानका लागि १२ करोड ७७ लाख मतदाता रहेको र जसमा ६ करोड ४८ लाख पुरूष र ६ करोड २८ लाख महिला छन्।
संसदको प्रतिनिधि छनोटसँगै जुलाई नेसनल चार्टरसम्बन्धी जनमत संग्रहमा पनि मतदान भइरहेको छ। उक्त चार्टरको परिणामले आगामी वर्षहरूमा शासन प्रणालीको दिशा तय गर्ने अपेक्षा गरिएको छ।
यसमा संविधान संशोधन, कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन मजबुत बनाउने व्यवस्था, निर्वाचन प्रणालीमा सुधार, मानवअधिकार र जबाफदेहिता सुनिश्चित गर्ने प्रावधान र भ्रष्टाचार नियन्त्रण तथा संस्थागत पारदर्शीता अभिवृद्धि गर्ने विषयहरू समावेश छन्।
चुनावी मैदानमा ५० दलका १ हजार ७५५ जना उम्मेदवार छन्। त्यस्तै, २७३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रतिनिधि सभाका कुल ३०० सिटमध्ये २९९ सिटमा निर्वाचन हुन लागेको हो। एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित गरिएको छ।
निर्वाचन शान्तिपूर्ण बनाउन देशभर करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको पनि डेली स्टारले जनाएको छ।
डेली स्टारका अनुसार १ लाख ३ जना सेना, ५ हजार नौसेना, ३ हजार ७३० वायुसेना, ३७ हजार ४५३ बोर्डर गार्ड बंगलादेश, ३ हजार ५८५ कोस्ट गार्ड, १ लाख ८७ हजार ६०३ प्रहरी, ९ हजार ३४९ र्यापिड एक्शन बटालियन, ५ लाख ७६ हजार ४८३ अन्सार तथा भीडीपी, १ हजार ९२२ बीएनसीसी क्याडेट तथा ४५ हजार ८२० चौकीदार परिचालन गरिएका छन्।
यस अतिरिक्त १ हजार ५१ कार्यकारी मजिस्ट्रेटलाई फेब्रुअरी १४ सम्मका लागि मैदानमा खटाइएको छ।
सशस्त्र बललाई ‘इन एड टु सिभिल पावर’ प्रावधानअन्तर्गत नागरिक प्रशासनलाई सहयोग गर्ने गरी परिचालन गरिएको छ।
प्रहरी महानिरीक्षक बहारुल आलमका अनुसार प्रत्येक मतदान केन्द्रमा स्थायी सुरक्षा, बाहिर मोबाइल गस्ती टोली र आवश्यक परे हस्तक्षेप गर्न स्ट्राइकिङ युनिट तयारी अवस्थामा राखिएको छ। प्रहरीका १ लाख ८७ हजार ६०३ जना चुनावी सुरक्षामा संलग्न छन्।
कडा सुरक्षाबीच मतपत्र तथा निर्वाचन सामग्री मतदान केन्द्रहरूमा पुर्याइएको छ भने मतदान र मतगणनाको निगरानीका लागि हजारौं कर्मचारी परिचालन गरिएका छन्।
यसपालिको निर्वाचनमा मुख्यतः तारिक रहमान नेतृत्वको बिएनपी र जमात–ए–इस्लामी नेतृत्वका दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ।
कम्तिमा १ हजार ४०० जनाको ज्यान जाने गरी भएको दमनकारी कारबाहीमा संलग्न रहेको आरोपमा अवामी लिगलाई यस निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।
सन् २०२४ को जुलाइमा सुरू भएको आन्दोलन हिंसात्मक बन्दा तत्कालीन प्रधानमन्त्री हसिना देश छाडेर भागेकी थिइन्। उनी अहिले भारतमा छिन्।
मुख्य सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचनको दिनलाई नयाँ बंगलादेशको जन्मदिनका रूपमा मनाउन आह्वान गरेका थिए। उनले मतदाताले नै देशको भविष्यको इतिहास लेख्ने बताएका छन्।





प्रतिक्रिया दिनुहोस्