पोखरा प्रिमियर लिग (पिपिएल) बाट चर्चामा आएका लोकेश बमले त्यतिबेला तीन देशका पूर्वकप्तानका टोलीविरूद्ध अर्धशतक हाने। १७ वर्षका उनको प्रदर्शन गज्जबको थियो। त्यसपछि उनले घरेलु क्रिकेटमा आफ्नो छाप छाडे।
तर राष्ट्रिय टोलीसम्मको यात्रा उनका लागि सहज भएन। हुन त कोही खेलाडीका लागि पनि राष्ट्रिय टोलीको ढोका त्यसै खुल्दैन।
पछिल्लो वर्षमा राष्ट्रिय टोलीमा स्थान बनाएका बमले आइसिसी विश्वकप छनोट तथा दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा प्रभावशाली खेल देखाए। उनी ओपनिङका साथै फिनिसरको भूमिकामा पनि फिट हुने गरेका छन्।
पूरा नाम: लोकेश बम
जन्म: अगस्ट १३, २०००, डोटी
उमेर: २५ वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
भूमिका: मध्यक्रमका ब्याटर/विकेटकिपर
टी-२० आई डेब्यू: युएई विरुद्ध नेपाल, अल अमेरात — फेब्रुअरी १२, २०२२
लोकेश बम आक्रामक ब्याटिङका कारण चिनिएका खेलाडी हुन्। अन्तर्राष्ट्रिय खेलमा आफूलाई प्रमाणित गर्न बाँकी लोकेशले घरेलु क्रिकेटमा भने आफ्नो क्षमता देखाइसकेका छन्।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा केही खेलमा उत्कृष्ट इनिङ खेले उनले। २०७८ को प्रधानमन्त्री कपमा त उनले १४ बलमै अर्धशतक प्रहार गरेका थिए। त्रिभुवन आर्मी क्लबबाट खेल्ने उनले एपिएफविरूद्ध १४ बलमा ७ छक्का र २ चौका प्रहार गरेका थिए।
उनले क्रिकेटमा आफ्नो पहिचान भने २०७६ सालमा स्थापित गरेका थिए। उनले त्यतिबेला १७ वर्षको उमेर भए पनि पोखरा प्रिमियर लिग (पिपिएल) मा उत्कृष्ट खेल देखाएका थिए।
राष्ट्रिय टोलीबाट टी-२० डेब्यू २०२२ मा गरे पनि अहिलेसम्म पर्याप्त अवसर पाएका छैनन्। एकदिवसीय टोलीबाट अझै डेब्यू गर्न बाँकी उनका लागि टी-२० विश्वकप २०२६ अवसरसँगै चुनौती पनि हुनेछ।
तत्कालिन यू-१९ टोलीमा पर्न संघर्ष गरे पनि उनले पोखरा विराटनगर टाइटन्सबाट पिपिएल खेलेर पहिलो पटक फ्रेन्चाइज क्रिकेट लिगमा डेब्यू गरे।
उनले त्यतिबेला तीन देशका पूर्वकप्तानविरूद्धको टोलीविरूद्ध अर्धशतक हानेर चर्चा कमाए। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का लगायतले बम नेपाली क्रिकेटको आसा भनेका थिए। जुन कुरा अहिले प्रमाणित भएको छ।
नेपाली क्रिकेटको आसा लाग्दा ब्याट्सम्यानको रुपमा उदाएका बमको क्रिकेट यात्रा २०१४ को टी-२० विश्वकप पछि सुरु भयो।
‘२०१४ को विश्वकपदेखि नेपालको पनि क्रिकेट टिम हुने रहेछ भन्ने थाहा पाएँ,’ उनले सेतोपाटीसँगको कुराकानीमा भनेका थिए, ‘विश्वकपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र सुवास खकुरेलको खेल साह्रै मन परेको थियो।’
डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएका बमले बाल्यकालमा टेनिस बलले क्रिकेट खेले। उनले क्रिकेट खेलेर देशको प्रतिनिधित्व गर्ने र अनि खेलका लागि विदेश पुग्न सकिन्छ भन्ने कहिल्यै सोचेका थिएनन्। यी भ्रम उनले २०१४ को विश्वकपपछि तोडे र क्रिकेटमा भविष्य बनाउने सपना बुने।
सबैभन्दा पहिला आफ्ना बुबासँग क्रिकेट सिक्ने कुरा बताए। तर बुबाले पढाइमा ध्यान दे भने।
बुबाले क्रिकेट खेल्न रोकेपछि आमासँग गएर अड्डी कसे,’म जसरी पनि क्रिकेट खेल्छु।’ त्यसपछि उनी धनगढी क्रिकेट एकेडेमीमा भर्ना भए। धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दा सुरुमा बलिङ गरे। स्थानीय प्रशिक्षकले उनलाई बलिङ भन्दा ब्याटिङ गर्न सुझाए।
धनगढीबाट उनले मुम्बईको स्थानीय टिमसँगको खेलका लागि भारत भ्रमण गर्ने मौका पाए। त्यहाँ उनले एक खेलमा शतक प्रहार गरे। त्यसपछि उनी नेपालको यु-१९ टिममा पर्न सफल भए। काठमाडौंमा भएको ट्यालेन्ट हन्टबाट उनी यू-१९ राष्ट्रिय टिममा छानिएका थिए।
युवा टिममा परे पनि ब्याटिङको मौका कुरिरहेका लोकेशलाई गत महिना पिपिएल टिम विराटनगर टाइटन्सले ५० हजार रुपैयाँमा आबद्ध गरेपछि उनको चर्चा चुलियो। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्का, युएईका रोहान मुस्ताफा, हङकङका ब्याट्सम्यान बाबर हायत, भारतका प्रतिभाशाली अलराउन्डर सनी पटेल जस्ता अनुभवी खेलाडीका अघि उनको ब्याटिङ शैली साँच्चै गज्जबको थियो। चितवनबाट खेलेका पारस, मुस्ताफा र हायत आ-आफ्नो देशको राष्ट्रिय टिमका पूर्वकप्तान समेत हुन्। यी खेलाडीविरूद्ध देखाएको खेलले उनी घरेलु क्रिकेटको राम्रा खेलाडीमा पर्न सफल भए।
त्यसपछि त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेलेका बमका लागि राष्ट्रिय टोलीमा पर्न भने केही समय कर्नु पर्यो। चार वर्षअघि राष्ट्रिय टोलीमा परे पनि उनले नियमित स्थान बनाउन सकेनन्। ओमानमा भएको टी-२० विश्वकपमा छनोटसँगै नेपाल प्रिमियर लिगको दुवै संस्करणमा क्षमता देखाएका बमका लागि टी-२० विश्वकपमा २०२६ अवसर र चुनौती दुवै छ।





प्रतिक्रिया दिनुहोस्