विराटनगर : धरानमा रहेको भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले बताएको छ ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो झोसेको थियो । भित्र तीनवटा शव जलेको अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए ।
आगो निभेसँगै आएसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ । यस्तै केही बेरअघि अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको खड्काले बताए ।
मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा ३ जना फसेको भन्दै हल्ला फैलिएको थियो । फसेका व्यक्तिका आफन्तजनहरूले अनौपचारिकरूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । भाटभटेनीमा लागेको आगो हिजो साँझमात्र निभेसँगै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्