काठमाडौँ — नेपाल वायुसेवा निगमको लुम्बिनी नामको एयरबस ए–३२० जहाज २० दिनपछि पुन: उडानमा फर्किएको छ ।
साउन २१ गते हङकङबाट काठमाडौं उडानमा फर्किएपछि यो जहाजको पहिलो इन्जिनमा समस्या देखिएको थियो । निगमका इन्जिनियर मनोज साहले आइतबार दिउँसो जहाज मर्मत भइसकेको बताए ।
निगमले सोमबार रातिदेखी जहाजलाई उडानमा राखेको छ । ‘७ दिन समस्या पत्ता लगाउन लाग्यो’, निगमका एक अर्का इन्जिनियरले भने, ‘स्पेयर पार्टस् नेपाल झिकाउँदा ५ दिन लाग्यो ।’
हङकङबाट फर्किँदा जहाजको इन्जिनलाई बिजुली आपूर्ति गर्ने पर्मानेन्ट म्याग्नेट अल्टरनेटरको रिटेन्सन नटमा समस्या देखिएको ती इन्जिनियरले बताए ।
एनएसीका दुवै न्यारोबडी जहाज ग्राउन्डेड : बुधबार राति साउदी र काठमाडौँमा २ सय १० यात्रु अलपत्र
यो विमान बनेसँगै निगमका चारवटै जहाज उडानमा आएका छन् । १ सय ५८ सिटका दुईवटा न्यारोबडी र २ सय ७४ सिट क्षमताका दुईवटा वाइडबडीबाट निगमले भारतको दिल्ली दैनिक उडान गर्दै आइरहेको छ । यसबाहेक मुम्बई, बैङ्लुरु, जापान, मलेसिया, हङकङ, बैंकक, दोहा, दमाम र दुबईमा सातामा दुईदेखि चारवटासम्म नियमित उडान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्