काठमाडौँ — गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको छ । हिजो देशैभर सक्रिय मनसुन आज भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए ।
आज सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको छ । विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए ।
‘पछिल्लो २४ घण्टाको मापन हेर्दा भने सबैभन्दा बढी वर्षा बैतडीमा ११६, डोटीमा ९२ दशमलव ४, कैलालीमा ९० दशमलव ६ र अछाममा ९८ मिलिमिटर वर्षा भएको छ,’ उनले भने । उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, कास्की, पर्वत जिल्लामा पनि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टाको रेकर्डअनुसार कैलाली, दार्चुला, बैतडी, डडेलधुरा तथा आसपासका जिल्लामा पनि निरन्तर वर्षा भएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन पूर्वी भू–भागभन्दा पश्चिमतर्फ बढी सक्रिय भइरहेको हो । आज रातिदेखि विस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ ।
यसैबीच, महाकाली नदीमा पानीको बहाव बढेको छ । बिहीबार बिहान ११ वजेको मापनअनुसार नदीमा पानीको बहाव १ लाख २६ हजार ७१२ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनमा रोक लगाइएको छ । बिहीबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो ।
प्रतिक्रिया दिनुहोस्