काठमाडौं : राष्ट्रिय महिला लिग छनोटको लागि १६ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटवल संघ (एन्फा) ले प्रतियोगिता बिहीबारबाट सुरु हुने जानकारी गरायो । उद्घाटन खेलमा काठमाडौंको छहारी युवा क्लब र भक्तपुरको एफसी रियले प्रतिस्पर्धा गर्नेछन् ।
एन्फा प्रवक्ता सुरेश शाहले १६ टिमबाट ५ टिम महिला लिगको लागि छनोट हुने बताए । उनका अनुसार राष्ट्रिय लिगमा छनोट भएका पाँच र विभागीय तीन टिमबीच फाइनल चरणका खेल हुनेछन् । प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
छनोट चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका संकटा क्लब, चर्च ब्वाइज र न्युरोड टिम एनआरटी पनि सहभागी भएका छन् । संकटा दोस्रो पटक छनोट चरण खेल्दा एनआरटी र चर्च ब्वाइजको पहिलो सहभागिता हो । यस्तै, नेपाल सुपर लिग (एनएसएल) खेलेका झापा एफसी र बुटवल लुम्बिनी एफसी पनि छनोटमा सामेल हुनेछन् ।
छनोट खेल्ने अन्य टोलीमा स्टुडेन्ट फुटबल क्लब काठमाडौं, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक एफसी, कास्कीको आरएस रिसोर्ट एण्ड बिच फुटबल, राप्ती फुटबल क्लब काठमाडौं, कास्कीकै एनबिएम पोखरा गर्स एफसी, रौतहटको नेपाल खेलकुद क्लब, कैलालीको लम्की फुटबल तथा ट्रेनिङ सेन्टर, भक्तपुरको एफसी रियले र काठमाडौंको छहारी युवा क्लब रहेका छन् । एफसी रियलले नेपालका पुर्व अन्तर्राष्ट्रिय खेलाडी सन्तोष साहुखलले संचालन गरेको क्लब हो ।
एन्फाको अनुसार सहभागी १४ टिमहरुलाई दुइ समुहमा विभाजन गरिएको छ । हरेक टिमले आफ्नो समुहमा ६ वटा खेलहरु खेल्नेछन् । दुवै समुहको विजेता र उपविजेता टिमहरु स्वत एन्फा महिला लिगको लागि छनौट हुनेछन् । यस्तै, समुहको तेस्रो स्थानका टिमहरुवीच एक नकआउट खेल खेलाइ विजेता टिम छनोट गरिने प्रवक्रा शाहले बताए । प्रतियोगितामा कुल ४३ वटा खेलहरु खेलिनेछन् ।
एन्फाले प्रतियोगिताको अनुमानित कुल बजेट ८९ लाख ७३ हजार ५७१ रहेको बताएको छ । यो सबै बजेट एन्फालाई फिफाले उपलब्ध गराउनेछ ।
प्रतिक्रिया दिनुहोस्