काठमाडौं : २०८० असोज २३ (७ अक्टोबर २०२३)मा हमास समूहको अपहरणपछि प्यालेस्टाइनको गाजामा रहेका बिपिन जोशीको परिवार सोमवार इजरायल प्रस्थान गरेको छ ।
इजरायल सरकारको निमन्त्रणामा बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी त्यसतर्फ लागेका छन् । इजरायली राजदूत श्मुलिक ए बासले त्रुभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा परिवारलाई बिदाई गरेको छन् ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार बिपिनका परिवार १० दिन इजरायलमा रहनेछन् । उनीहरूले बिपिन अपहरणमा परेको तथा १० नेपालीले ज्यान गुमाएको इजरायलको दक्षिण क्षेत्र आलुमिम किबुज भ्रमण गर्ने र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत उच्च अधिकारीसॅग भेट गर्ने कार्यक्रम छ ।
दुई बर्षअघि हमासको आतंककारी हमलामा घोडाघोडी– ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३ कैलालीका आशिष चौधरी, लेकम– ५ दार्चुलाका दीपेशराज बिष्ट, पचनाली– ३ डोटीका राजन फुलारा, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साह र मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो । बिपिन त्यहीदिन हमास समूहको कब्जामा परेका थिए । उनको अवस्था अज्ञात छ ।
प्रतिक्रिया दिनुहोस्