झन्डै तीन वर्षदेखि २२ सयको विन्दुमा घुमिरहेको सेयर बजार एक वर्षयता २५ सयको विन्दुमाथि चलिरहेको छ । आजभन्दा ठ्याक्कै एक वर्षअघिदेखि अर्थात् साउनदेखि २२ सयको मनोवैज्ञानिक विन्दुलाई पार गरेर नयाँ साइडबेज बनाउन शुरू भएको थियो ।
अहिले पनि ठ्याक्कै त्यही नयाँ सइडबेज बनाउने संकेत देखिएको छ । २०८१ साउन १ देखि २२०० को मनोवैज्ञानिक विन्दुलाई पार गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) साउन ३१ गते ३०००.८१ को विन्दुमा पुगेको थियो । यतिबेला एक महिनामै सेयर बजार तीन वर्षयताकै उच्च विन्दुमा पुगेको थियो ।
चार वर्षअघि २०७८ भदौ २ गते सेयर बजार ३१९८ को विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसपछि एक वर्षअघि २०८१ साउन ३१ गते ३०००.८१ को विन्दुसम्म परिसूचक कायम भएको थियो ।
मौद्रिक नीतिको सपोर्टमा बुल मार्केट बनिरहेको सेयर बजारका विश्लेषक सुभाष ढुङ्गाना बताउँछन् । जुलाई र अगस्टमा नै सेयर बजार पिकमा पुग्ने सिजन रहेको उनको भनाइ छ ।
उनका अनुसार जनवरी र फेब्रुअरीमा बजारले पिक लिन सक्ने सम्भावना रहेको हुन्छ । जुन यस पटक बनाउन सकेन तर, जुलाई र अगस्टमा मार्केट टपमा जान सक्ने सम्भावना बलियो रहेको छ ।
‘जुलाई र अगस्टमा सिजन पिकमा पुग्ने ट्रेन्ड देखिन्छ । विगतमा पनि यही सिजनमा बढेको इतिहास छ’, उनले भने, ‘अहिले पनि पिकमा गइरहेको छ । यसमा मौद्रिक नीतिको पनि ठूलो सपोर्ट छ ।’
पछिल्लो एक वर्षमा सबैभन्दा बलियो सपोर्ट २५६० देखि २०८० मा बनेको ढुङ्गानाको बुझाइ छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले बजारलाई बढाउनमा ठूलो भूमिका रहेको लगानीकर्ताहरूको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले सहजीकरण गरिदिँदा सेयर बजारमा उत्साह देखिएको थियो । अहिले झन् सेयर बजारप्रति नरम मानिएका गर्भनेरले ल्याएको मौद्रिक नीतिले सेयर बजारलाई पिकसम्म पुर्याउने लगानीकर्ताहरूको भनाइ छ ।
मौद्रिक नीतिमार्फत बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रूपैयाँ कायम गरिएको छ । लामो समयदेखि लगानीकर्ताहरूले सीमा हटाउन वा बढाउन माग गरिरहेका थिए । लगानीकर्ताकै माग अनुसार केही हदसम्म मौद्रिक नीति आएको लगानीकर्ता डुपेन्द्र भट्टराई बताउँछन् ।
मौद्रिक नीतिले राष्ट्र बैंकको स्वीकृतिमा पूँजी बढाउन पाउने व्यवस्था गरिदिएको छ । बैंकहरूले हकप्रद सेयर जारी गरेर समेत पूँजी वृद्धि गर्न पाउने भएपछि सेयर बजारमा यसको प्रभाव देखिन थालेको विश्लेषकहरूको भनाइ छ ।
लघुवित्त वित्तीय संस्थालाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरावलोकन गर्ने कुरा समेटिएको छ । यसले पनि बजारलाई सकारात्मक प्रभाव पार्ने देखिएको छ ।
नीतिगत सहजताले गर्दा बजार बढी रहेको तर, एकै पटक ३ हजारको विन्दुमा नपुग्ने भट्टराईको भनाइ छ ।
‘एकैपटक बजार बुलमा जाने देखिँदैन । अहिलेका नयाँ गभर्नर पनि बजारप्रति उदार देखिएका छन् । सेयरधितो कर्जाको क्याप बढाउनेदेखि बैंकहरूले पूँजी वृद्धि गर्न पाउनेसम्मका व्यवस्थाले सेयरबजारलाई सकारात्मक प्रभाव पारेको छ’, उनले भने, ‘ठ्याक्कै सबै कुरा मिलेको जस्तो बजारले महसुस गरेको छ । पक्कै पनि नयाँ ३ हजारको विन्दुमाथि जान सक्ने सम्भावना उच्च रहेको छ ।’
प्रतिक्रिया दिनुहोस्