काठमाडौं : दर्ता बिना सञ्चालन गरिएको सुवाल इन्टरनेशनल कलेजका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार जिल्ला प्रहरी परिसर भक्तपुरले यो कलेजका सञ्चालक प्रकाश सुवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको थियो । परिसरको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा उनीविरुद्ध गैर कानूनी रुपमा आर्जन गरिएको भन्दै ३ करोड ३६ लाख ६५ हजार १५० रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।
यसका साथै कलेजको खातामा रहेको १ करोड २० लाख १३ हजार ९६९ रुपैयाँ पनि जफतको मागदाबी गरिएको छ ।
यो कलेज दर्ता बिनै सञ्चालनमा गरिएको थियो । जहाँ नर्सिङदेखि फार्मेसी, एचएसम्मका विषयहरु पढाई हुन्थ्यो । अवैध तरिकाले कलेज सञ्चालनमा आएको सूचना पाएपछि प्रहरीले यसका सञ्चालक प्रकाशलाई १३ मंसिर २०७९ मा पक्राउ गरेको थियो । उनीविरुद्ध ठगीको कसुरमा मद्दा दायर भएको थियो ।
३ पुस २०८१ मा भक्तपुर जिल्ला अदालतले प्रकाश सुवाललाई ४ वर्ष कैद ४० हजार जरिवाना, पीडित राहत कोषमा १६ सय जम्मा र पीडितहरुलाई बिगो बराबरको ३ करोड ४ लाख ६२ हजार ८ सय भराउनु पर्ने फैसला भएको थियो । उनी अहिले पनि ललितपुरको नख्खु कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस्