कञ्चनपुर : बर्खा कारण निकुञ्जभित्रको बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द गरिएको छ । सफारी गर्न जाने क्रममा बाटोमा हिलो भएर गाडी फस्दा पर्यटकले दुःख पाउन थालेपछि सफारी बन्द गरिएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।
सफारी गर्ने मुख्य रुट निकुञ्जको हेडक्वार्टर मझगाउँदेखि घाँसे मैदान र उक्त क्षेत्र आसपासको सडक बिग्रेको छ । जसका कारण सफारी गएका गाडी फस्ने र उद्धार गर्नै गाह्रो हुन थालेपछि बन्द गरिएको हो । ‘गाडी फसेपछि पर्यटकले दुःख पाउन थाले,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘उद्धार गर्न पनि गाह्रो, एकरदुई पटक त हामीले बल्लतल्ल उद्धार गर्यौं ।’
निकुञ्जमा सफारी गर्न बनाइएका अधिकांश सडक कच्ची छन् । केही स्थानमा ग्राभेल र पिच गरिए पनि कच्ची सडकमा भने हिलोका कारण गाडी चलाउन गाह्रो हुने गरेको छ । निकुञ्ज कार्यालयका अनुसार असारमा सफारी बन्द हुनुअघिसम्म २४ विदेशीसहित १ सय ११ जनाले जंगल सफारी गरेका छन् ।
त्यसअघि जेठसम्म ३ हजार ६ सय ११ जना शुक्लाफाँटाभित्र प्रवेश गरेका छन् । ‘निकुञ्जको मुख्य घुम्ने ठाउँ भनेकै शुक्लाफाँटा घाँसे मैदान हो, त्यहीँ जाने बाटो खराब भएपछि गाह्रो हुन्छ,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘बाह्रै महिना सफारी गर्न सकिने सडक नबनेसम्म बर्खामा सफारी गर्न सकिने अवस्था हुँदैन ।’
३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ । उक्त घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । यहाँ हजारौंको संख्यामा रहेका बाह्रसिंगा हेर्न पर्यटक उक्त स्थानसम्म पुग्छन् । पछिल्लो गणना अनुसार शुक्लाफाँमा २ हजार ३ सय बढी बाह्रसिंगा छन् । यसबाहेक बाघ, गैंडा, हात्ती, कृष्णसार, चित्तललगात वन्यजन्तु यहाँका प्रमुख आकर्षण हुन् । पछिल्लो गणना अनुसार निकुञ्जमा ४२ बयस्क बाघ पनि रहेका छन् ।
सफारीका लागि निकुञ्जभित्रको बाटो बाह्रै महिना सुचारु गर्न सकिने गरी निर्माण गर्नका लागि यहाँका पर्यटन व्यवसायीदेखि सरोकारवालाले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसमक्ष माग गर्दै आएका छन् । तर आवश्यक बजेट विनियोजन नहुँदा त्यस्तो सडक निर्माण हुन सकेको छैन । ‘अब बर्खा सकिएपछि मात्रै सफारी सुचारु गर्न सकिन्छ,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘बीचमा पनि लामो समय खडेरी परेमा वा बाटो सहज भएमा सफारी खुलाउन सकिन्छ ।’ तर पर्यटकलाई दुःख हुने अवस्थामा सफारी खुला गर्न नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्