सुदुरपश्चिममा परम्परागत काठको ठेकी लोप हुँदै !

बैतडी : पहाडी जिल्लाहरूमा परम्परागत रूपमा दूध, दही, घ्यू जस्ता परिकार भण्डारण तथा प्रशोधनमा प्रयोग हुँदै आएको काठको ठेकी अहिले लोप हुने अवस्थामा पुगेको छ । प्लास्टिक र स्टिलका भाँडाको सहज उपलब्धता तथा पशुपालन व्यवसायमा आएको ह्रासका कारण परम्परागत भाँडाको प्रयोग निरन्तर घट्दै गएको हो ।

पाटन नगरपालिका–३ का भुवन भट्टका अनुसार पछिल्लो पाँचदेखि सात वर्षयता ग्रामीण भेगमा काठका ठेकीको प्रयोग अत्यधिक घटेको छ । ‘‘ पहिले घरघरमा दूध दही राख्न ठेकी अनिवार्य जस्तै हुन्थ्यो,’’ भट्टले भने, ‘‘तर अहिले प्लास्टिकका सस्ता र सजिला भाँडोले स्थान लिएको छ ।’’

Seti Hospital

डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लामा भित्री मधेश तथा तराई क्षेत्रबाट व्यापारीहरू ठेकी बोकेर गाउँगाउँमा बिक्री गर्न आउने चलन थियो । तर अहिले त्यो परम्परा हराउँदै गएको अनारखोली बजारका व्यापारी डम्बर भट्टले बताए । ‘‘ पशुपालन घट्दा दूधको उत्पादन कम भएको छ,’’ उनले भने, ‘‘ त्यसैले ठेकी प्रयोगको आवश्यकता पनि घटेको हो ।’’

एक ठेकीको मूल्य न्यूनतम एक हजारदेखि आठ हजार रूपियाँसम्म पर्ने गरेकामा सोही प्रयोजनमा प्रयोग हुने प्लास्टिक र स्टिलका भाँडो चार पाँच सय रूपियाँमै पाइने भएकाले उपभोक्ता सस्तो र सजिलो विकल्पतर्फ आकर्षित भएको दशरथचन्द नगरपालिका–४ का व्यापारी खेमराज भट्टले बताए ।

बैतडीबाट मात्र वार्षिक झण्डै १५ सय भैँसी निकासी हुने जिल्ला समन्वय समितिको तथ्याङ्क छ । निकासी कर सङ्कलन सुरु भएपछि सार्वजनिक भएको उक्त तथ्याङ्क अनुसार लुकिछिपी तराईतर्फ लैजाने सङ्ख्या दोब्बर हुन सक्ने स्थानीय व्यापारीहरू बताउछन् ।

यसरी व्यवसायमा आएको मन्दीले ठेकी निर्माण गर्ने साना उद्योगीहरू सङ्कटमा परेका छन । काठका पुराना भाँडो समेत व्यापारको साधन बन्न छाडेका छन् । स्थानीय कृषक चक्रदेव भट्टका अनुसार केही व्यापारीले पुराना वा फुटेका ठेकी प्लास्टिकका भाँडासँग साट्ने चलनसमेत चलेको छ । पाटन नगरपालिका–१ का चक्रबहादुर चन्दका अनुसार प्रयोग गर्न सकिने काठको भाँडोको प्रतिकिलो दुई सय र नचल्ने टुक्राको एक सय रूपियाँसम्म मूल्य तोकिएको छ ।

पहिला–पहिला स्थानीय मेला र जात्रामा मधेस र तराईबाट व्यापारीहरू यस्ता भाँडो लिएर बिक्री गर्न आउँथे । तर पछिल्लो समय बैतडीका देहिमाण्डौं, पात्तालभूमेश्वर, गोकुलेश्वर, पाटन, त्रिपुरासुन्दरी, मेलौली जस्ता धार्मिक स्थलहरूमा लाग्ने मेलामा समेत ठेकीको व्यापार घटेको व्यापारीहरूको गुनासो छ । ‘‘अहिले त दुई–चार हजार रूपियाँको सामान बेच्न पनि गाह्रो हुन्छ, यात्रा खर्चसमेत नउठ्ने अवस्था छ,” जोगबुडाका व्यापारी धनबहादुर भण्डारीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार