धनगढी । “सिक्दै कमाउने” अभ्यासलाई व्यवहारमा उतार्दै एरिष्टो इङ्लिस हाई स्कूलका दुई विद्यार्थीले आफ्नो जीवनको पहिलो कमाइ प्राप्त गरेका छन् । विद्यालयले सञ्चालन गरेको ‘लर्निङ एण्ड अर्निङ’ कार्यक्रम अन्तर्गत राष्ट्रियस्तरका ब्याडमिन्टन खेलाडी जीवन कार्की र रियान्स चौधरीले विद्यालयका साना विद्यार्थीलाई ब्याडमिन्टन प्रशिक्षण दिए बापतको पहिलो कमाई पाएका हुन् ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई विद्यालयका प्रधानाध्यापक हरि क्षेत्रीले चेक हस्तान्तरण गरेका थिए ।
चेक ग्रहण गर्दै विद्यार्थी जीवन कार्कीले एसइई दिएर बसेको खाली समयमा दिएको अवसरले आफूहरु निकै खुसी भएको बताएका छन् । साथै सिक्ने र कमाउने दुवै अवसर एकैपटक पाउँदा गर्व लागेको पनि कार्कीले बताएका छन् ।
यस्तै कार्यक्रममा विद्यालयले पढाइसँगै आत्मनिर्भरता र जिम्मेवारीको भावना विकास गर्न विद्यार्थीहरूलाई व्यावहारिक अवसर उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
हाल कार्की र चौधरी दुवै जना एरिष्टोमै कक्षा ११ मा भर्ना भएका छन् । उनीहरुको लगन र मिहेनतलाई सम्मान गर्दै विद्यालयले आगामी दिनमा ‘लर्निङ एण्ड अर्निङ’ कार्यक्रमलाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । एरिष्टो इङ्लिस हाई स्कूलको यो पहलले सिकाइ र सीपलाई आम्दानीसँग जोड्दै विद्यार्थीहरूको आत्मविश्वास र क्षमतामा नयाँ ऊर्जा थपेको विद्यार्थीहरुले बताएका छन् ।
प्रतिक्रिया दनुहोस्