काठमाडौं : थाइल्याण्डको बैंककमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग महत्त्वपूर्ण खेल खेल्दैछ । समूह ‘सी’ मा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा टेरथाई क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु हुनेछ ।
डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगितामा नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको थियो । त्यसपछि नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ । हङकङको भने दुवै खेल वर्षाले प्रभावित भएका कारण टोलीले अझै पूर्ण खेल खेल्न पाएको छैन, जसले प्रतियोगितामा उसको स्थिति कमजोर बनाएको छ ।
यदि नेपालले आजको खेलमा हङकङलाई पराजित गर्न सफल भयो भने, एक खेल बाँकी छँदै समूह विजेता बन्दै सुपर थ्री चरणमा स्थान सुरक्षित गर्नेछ । तर पराजित भएमा नेपालको यात्रा जटिल बन्नेछ ।
नेपाल र हङकङबीच पछिल्ला ५ टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले २ जित निकालेको छ भने हङकङले १ खेलमा मात्र जित हात पारेको छ । पछिल्ला दुई भिडन्त वर्षाका कारण बिना नतिजा टुंगिएका थिए ।
यस प्रतियोगितामा ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीले सुपर थ्री चरणमा स्थान बनाउनेछ । त्यसपछि सुपर थ्री का तीन टोलीबीच एकअर्कासँग प्रतिस्पर्धा हुनेछ, जसमा शीर्ष दुई टोलीले आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।
नेपाली महिला क्रिकेट टोली अहिलेसम्म ग्लोबल क्वालिफायर पुग्न सकेको छैन । यस पटक भने टोली ग्लोबल क्वालिफायर हुँदै विश्वकपमा स्थान बनाउने ऐतिहासिक लक्ष्यसहित मैदान उत्रिएको छ । आजको खेलले त्यस यात्राको दिशा निर्धारण गर्नेछ ।
प्रतिक्रिया दनुहोस्