काठमाडौं : भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको केही समयपछि भारतीय सेनाले पहिलो पटक सार्वजनिक रुपमा अपरेसनबारे जानकारी दिएको छ । आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय थल, जल र वायु सेनाका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा ‘अपरेसन सिन्दूर’को बिस्तृत विवरण सार्वजनिक गरेका हुन् ।
थलसेनाका महानिर्देशक (डीजीएमओ) लेफ्टिनेन्ट जनरल राजीव घईले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, ‘सेनाद्वारा नौ आतंककारी लुकेका स्थानहरूमा सटीक र योजनाबद्ध आक्रमण गरिएको थियो । यस अभियानमा १०० भन्दा बढी आतंकवादीहरू मारिएका छन्, जसमा उच्च प्रोफाइल आतंककारी युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद पनि थिए ।’
घईका अनुसार, यी आतंककारीहरू भारतको चर्चित विमान अपहरण प्रकरण आईसी ८१४ र पुलवामा हमलामा संलग्न रहेका थिए । उनका अनुसार भारतीय सेनाको यो कदम शान्ति र सुरक्षा सुनिश्चित गर्न लक्षित थियो, तर पाकिस्तानतर्फबाट नियन्त्रण रेखा (एलओसी) उल्लंघन हुँदै नागरिक र धार्मिक स्थलहरूमाथि आक्रमण गरिएको थियो ।
‘पाकिस्तानी सेनाको प्रतिक्रियाले स्थिति अझ तनावग्रस्त बनायो,’ घईले भने, ‘धेरै निर्दोष नागरिकहरू मारिए, गाउँहरू ध्वस्त भए र गुरुद्वारा जस्ता धार्मिक स्थलहरूलाई निशाना बनाइयो, जुन अत्यन्त दुर्भाग्यपूर्ण छ ।’
पत्रकार सम्मेलनमा वायुसेनाका तर्फबाट एयर मार्शल एके भारती, नौसेनाबाट भाइस एडमिरल एएन प्रमोद तथा मेजर जनरल एसएस शारदाले पनि संयुक्त अपरेसनबारे प्राविधिक विवरण प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दनुहोस्