धनगढी : तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको उत्तरार्धमा नेकपा माओवादी केन्द्रको टोली सोमवार साँझ सुदूरपश्चिमको कैलाली प्रवेश गर्यो।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली बर्दियाको राजापुरहुँदै कैलाली प्रवेश गर्यो। टोलीको बसाइ टीकापुरस्थित बस्तीमा भयो। मंगलवार विहान टीकापुर नगरपालिका ८, धनसिंहपुरमा शहीद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग तथा यातना पीडितहरूसँग छलफलपछि प्रचण्डले टीकापुर ९ झुँगामा आयोजित खबरदारी सभालाई सम्बोधन गरे।
लगत्तै टोली कैलारी गाउँपालिका ५ बैजपुरको लागि हिड्यो। जहाँ बिहानको खानाको तयारीसँगै स्वागतको तामझाम थियो। माओवादी केन्द्रको स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयहरुलाई तयारीकै चटारो थियो।
यसरी भयो कलुवाको तयारी
जागरण टोली र टोलीमा सहभागी हुन आउने २५० बढीलाई कलुवा अर्थात बिहानको खाना खुवाउने जिम्मेवारीसहितको कार्यक्रम तालिका सार्वजनिक भएपछि स्थानीयहरु तयारीमा जुटे।
माओवादी केन्द्रका कैलारी अध्यक्ष बतासु चौधरीले कार्यक्रमको व्यवस्थापन चार दिनदेखि सुरु गरेको सुनाउँछन्। कैलारीको बैजपुर गाउँ नै तयारीमा लाग्यो। थारु बस्ती रहेको कैलारीमा स्थानीयले आफ्नै संस्कार र शैली अनुसार नै स्वागत गर्ने र खानाका परिकार पस्किने निधो गरे।
स्थानीयहरु कार्यक्रम हुनु एकदिन अगाडिदेखि नै मुसाको खोजीमा खेत खन्न हौसिए। घोंघी, गंगटा र माछा मार्न कटैनी र मोहना नदीदेखि तालतलैया चहारे। टोलीमा आउने पहुनालाई खाना खुवाउन एक मेस सञ्चालन गरियो। भने, स्थानीय ७ घरमा पनि खाना पाक्यो। सबैको घरमा थारु समुदायको मौलिक खाना पाक्यो।
पार्टी अध्यक्ष प्रचण्डले खाना खाने घरमा दालको विकल्पमा खुडिक कपुवा पाक्यो। मुसा र गंगटाको चटनी, लोकल कुखुराको मासु, घोंघी, बयरको चटनी, खरियालगायत परिकार तयार भयो।
सबै परिकार ग्रहण गरेः सिंहराज
जागरण टोलीमा आउनेलाई स्थानीयले सालको टपरी र दुनामा खुवाए। सोही अनुसार प्रचण्डलगायत नेताहरुलाई टपरी भात पस्के । दुनामा तरकारी। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कैलाली इन्चार्ज नेपबहादुर चौधरी ‘सिंहराज’ भन्छन्, ‘हामी अध्यक्ष कमरेडसँगै कलुवा खायौं। शरीरले लिने सबै परिकार हामीले र अध्यक्षले पनि लिनुभयो। जनताको घरमा बस्ने। जनताको भान्छामा जे पाक्छ, त्यही ग्रहण गर्ने नै जागरण अभियान हो।’
खाना मात्रै होइन, स्थानीयले पाहुनालाई खाना खुवाउँदा होस् या कार्यक्रममा बसाउन कुर्सीको प्रयोग गरेनन्। बस्न खटियाको प्रयोग गरे। गर्मी छल्न विद्युतीय पंखा होइन, बेना प्रयोग गराए। घरको भित्र खुवाएनन् बरण्डामै बसाए। खुवाए र बिदाइ गरे।
प्रतिक्रिया दनुहोस्