विद्युत् आपूर्तिमा समस्या, प्राधिकरणले दियो ३ कारण

काठमाडौं : हालैको सुख्खा मौसम र भारतबाट रातको समयमा विद्युत् आयातमा आएको कमीका कारण देशभर विद्युत् आपूर्तिमा गडबडी देखिन थालेको छ । विशेषगरी साँझको ‘पिक आवर’ मा औद्योगिक क्षेत्र विद्युत् अभावमा परेको छ भने काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बारम्बार लोड जान थालेको हो ।

यो अवस्थाले सर्वसाधारणमा ‘लोडसेडिङ फर्किन लागेको त होइन ? ’ भन्ने चिन्ता बढाएको छ । कारण स्पष्ट छन्- नयाँ कार्यकारी निर्देशकको आगमनसँगै व्यवस्थापन पक्षमा कमजोरीको आशंका गरिएको छ, विशेषगरी अघिल्लो कार्यकालमा कुलमान घिसिङले विद्युत् व्यवस्थापनमा देखाएको चुस्तीको तुलनामा अहिलेको स्थिति फरक देखिएको हो ।

Seti Hospital

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, हाल देखिएको विद्युत् आपूर्ति समस्याको पछाडि तीन मुख्य कारण छन् :-

१. प्राकृतिक प्रभाव – चैत १५ यता आएको हावाहुरी, वर्षा र आँधीका कारण विद्युत् लाइनमा समस्या देखिएको ।

२. प्राविधिक कामहरू – तार अन्डरग्राउन्डमा लैजाने परीक्षण, हाँगा काट्ने कामलगायत नियमित मर्मत ।

३. भारतबाट आपूर्तिमा कमी – पछिल्ला ४-५ दिनदेखि भारतले रातको समयमा आपूर्ति घटाएको ।

शिल्पकारले प्रष्ट पारे, ‘सर्वसाधारणको लाइन काटिएको होइन, प्राविधिक समस्या हो । मर्मतका लागि सूचना जारी भइरहेका छन्, जानकारी पनि दिइन्छ ।’ यहीबीच ढल्केबर र थानकोटका सबस्टेसनमा आगलागी हुँदा समस्या झनै चुलिएको छ। यसले विद्युत् प्राधिकरणको तयारी र व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ ।

भारतबाट बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत ३५० मेगावाटसम्म आपूर्ति हुने अनुमति भए पनि हाल जम्मा ५० मेगावाट मात्र आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । सुख्खा मौसममा नदीनालाको बहाव घट्दा आन्तरिक जलाशय र सौर्य ऊर्जा स्रोतहरू मिलाएर औसत उत्पादन १,१७५ मेगावाटमा सीमित छ । तर माग भने पिक आवरमा २,०७७ मेगावाट पुगेको छ । उत्पादन र मागको यो अन्तरले नियमित आपूर्ति असहज बनाइरहेको छ ।

हिमाल पग्लिँदै जाँदा माथिल्लो तामाकोशीमा उत्पादन बढेको र त्यसले केही राहत मिलाउने प्राधिकरणको विश्वास छ । ‘यो अवस्था अस्थायी हो, छिट्टै सामान्य अवस्थातर्फ फर्किन्छौं,’ शिल्पकारले भने । यसबीच, सर्वसाधारण र उद्योग दुवै क्षेत्रमा विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो बनाउन प्राधिकरणको व्यवस्थापन चुस्त बनाउने माग बढ्दो छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार