काठमाडौं : भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल भ्रमणमा आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरु उपस्थित थिए । मन्त्री खड्काले गत माघ ३० गते भारत भ्रमणका क्रममा खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
नेपाल आगमनपछि खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी करिडोर अन्तर्गतको इनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार २२० केभी प्रसारण लाइन तथा तुम्लिङटार, बानेश्वर र बसन्तपुर सबस्टेसनहरूको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। यो कार्यक्रम संखुवासभाको तुम्लिङटार सबस्टेसनमा हुनेछ । त्यसपछि उनले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको अवलोकन समेत गर्ने छन् ।
साथै, नेपाल-भारत संयुक्त प्रसारण लाइन निर्माण कम्पनीसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर हुने भएको छ । १० वैशाखमा मन्त्री खट्टरले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यस दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट पनि गर्ने छन् । भ्रमणको अन्त्यमा खट्टरले साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया दनुहोस्