धनगढी । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अहिले गभर्नरको दौडमा छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका खास पात्रका रुपमा रहेका भट्ट गभर्नर बन्ने पक्कापक्की भएपछि राष्ट्र बैंकबाट राजिनामा समेत दिइसकेका छन् । यद्यपि गभर्नर बन्न योग्यता नपुग्ने भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । तर गभर्नरका लागि योग्यता पुग्नेमा भट्ट विश्वस्त देखिन्छन् ।
यसै पनि सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच गभर्नर नियुक्तिका विषयमा सहमति समेत भइसकेको छ । अझ काँग्रेस सभापति देउवाले गभर्नरमा भट्टको नाम सिफारिस गरेका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सहमति जनाइसकेका छन् । अनुभव, योग्यता र क्षमताका आधारमा पनि परिपक्व भट्ट राष्ट्र बैंकको गभर्नर बन्ने पक्कापक्की नै भएको छ । सम्भवतः सरकारले यो साता नै राष्ट्र बैंकको गभर्नरमा भट्टलाई नै नियुक्त गर्ने स्रातको दाबी छ ।
को हुन् गभर्नरको दौडमा रहेका भट्ट ?
राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत रहेका भट्टको जन्म डोटीको कपल्लेगी गाउँमा भएको हो । भट्टका बुवा लीलाधर भट्ट हुन् । पेशाले उनी शिक्षक हुन् ।
बुवा शिक्षक भएकै कारण गुणाकर भट्टले सानैदेखि पढाई र सिकाईका लागि परिवारमा राम्रै माहोल पाए । त्यही कारण पनि उनी पढाईसँगै दैनिक अतिरिक्त क्रियाकलापमा प्राय अब्बल नै हुन्थे । बुवाले नै भट्टलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खबरसँग जोड्नुका साथै अवसरका विषयमा जानकारी गराइरहन्थे ।
बुवाकै साथ, हौसला र सहयोगका कारण भट्ट राम्रो सन्तानसँगै राम्रो विद्यार्थीका रुपमा पनि स्थापित भएका थिए । गाउँकै केदारेश्वर माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका भट्टले त्यसपछि शिक्षक पेशा रोजे । उनले शिक्षण पेशामा पनि आफूलाई अब्बल शिक्षकका रुपमा स्थापित गरिसकेका छन् । सामान्य परिवारमा जन्मिएका भट्ट संघर्ष र मिहेनतकै कारण राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेका हुन् । उनै भट्ट अहिले राष्ट्र बैंकको गभर्न बन्ने दौडमा छन् ।
शिक्षण पेशामा भट्टको संघर्ष
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकसँगै प्रवक्ताको भूमिका समेत निर्वाह गरेको भट्टले शिक्षण पेशा डोटीको सिमचौरको पोखरी गाउँमा रहेको अमर प्राविधिक विद्यालयबाट सुरु गरेका हुन् । २०४८ सलामा करिब १८ वर्षको उमेरमा भट्ट शिक्षाकर्ममा जोडिसकेका थिए ।
करिब एक वर्ष अमर प्राविधिक विद्यालयमा अध्यापन गरेपछि उनी स्नातक तहको अध्ययनका लागि कैलाली बहुमुखी क्याम्पस पुगे । कैलाली बहुमुखी क्याम्पसमा बढ्दै गर्दा पनि उनले अत्तरियाको पुष्पाञ्जली स्कुल र धनगढीको ग्यालेक्सी स्कुलमा अध्यापन गराउन सुरु गरे । त्यसपछि उनी एमबिए गर्न काठमाडौँ पुगे । काठमाडौँमा पनि त्रिभुवन विश्वविद्यालयमा एमबिए गरिरहँदा उनले वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा स्थायी शिक्षकका रुपमा जागिर सुरु गरेका थिए ।
एमबिएमा स्वर्णपदक हासिल गरेका भट्टले केही समयपछि मीनभवन क्याम्पसमा पनि अध्यापन गराए । त्यति मात्र होइन, उनले सेन्टर डिपार्टमेन्ट अफ म्यानेजमेन्ट, काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा समेत अध्यापन गराएका थिए ।
कसरी सुरु भयो भट्टको बैंकिङ यात्रा ?
शिक्षण पेशामा करिब एक दशक बिताएका भट्टले २०५६ सालमा कृषि विकास बैंकको जागिर सुरु गरे । त्यसबेला उनी कृषि विकास बैंकमा अधिकृत थिए । कृषि विकास बैंकमा जागिर खाइरहेकै बेला नेपाल राष्ट्र बैंकले भ्याकेन्सी माग्यो । जहाँ राष्ट्र बैंकले विश्वविद्यालय टपर माग गरेको थियो । राष्ट्र बैंकको उक्त भ्याकेन्सीमा भट्ट पनि सहभागि भए । अन्ततः उनले राष्ट्र बैंकको जागिरमा पनि नाम निकाले र २०५७ असार १ गतेदेखि अधिकृतको रुपमा जागिर सुरु गरे । उनले राष्ट्र बैंकको जागिर सुरु गरेदेखि नै लामो समय राष्ट्र बैंकमा आर्थिक अनुसन्धान विभागमा रहेर जिम्मेवारी पूरा गरेका थिए ।
त्यसपछि भट्ट स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेर अमेरिकाको विलियम्स कलेज पुगे । स्नातकोत्तरपछि नेपाल फर्किएका भट्ट आन्तरिक प्रतियोगितामार्फत अधिकृत द्वितीय तहमा नाम निकाले । उक्त जिम्मेवारीमा दुई वर्ष काम गरेपछि भट्टले अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
भट्टले नेपाल राष्ट्र बैंकको धनगढीस्थित क्षेत्रीय कार्यालयको प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेको छन् । २०७५ साल कार्तिकमा विशिष्ट श्रेणीमा बढुवा भएका भट्ट हाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागको कार्यकारी निर्देशक छन् । यद्यपि उक्त पदबाट राजिनामा दिएर भट्ट हाल राष्ट्र बैंकका गभर्नर बन्ने दौडमा छन् ।
प्रतिक्रिया दनुहोस्