काठमाडौं : पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
सोही ठाउँ बस्ने १३ वर्षीया दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा चैत २६ गते डुबेर बेपत्ता भएका थिए ।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बुढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वप्निल सेर्पुञ्जाको शव ३५ फिट गहिराईबाट बिहान ११ः३० बजे र दिक्षाको शव ५० फिट गहिराईबाट अपरान्ह १२ः३० बजे निकालेको सशस्त्र प्रहरीका डीएसपी एवं केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेका उनीहरु दिदीभाइ हुन् ।
उनीहरु हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका थिए । भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्