काठमाडौँ : नेपालले चैत अन्तिम सातादेखि आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।
एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्। नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ। घरेलु मैदानमा हुने एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार अन्तिम नेपाली टोली घोषणा गरेको छ। अन्तिम टोलीमा १८ खेलाडी परेका छन्।
दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीमध्ये ६ खेलाडी अन्तिम टोलीमा पर्न असफल भए। नेपाली टोलीमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका विपिनप्रसाद शर्मासहित एसिया कपमा खेलेका युवराज खत्री छन्। यस्तै नरेन भट्ट, रोशन विश्वकर्मा, अभिषेक तिवारी, दयानन्द मण्डल पनि टोलीमा छन्। नरेनलाई कप्तान र अभिषेकलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
दोस्रो चरणबाट राजेश बोहरा, प्रतीक पौडेल, सुर्यान्सु कोइराला, राहुल हक अन्सारी, रोहन साह र दिपक सेराला बाहिरिएका छन्। यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो। पहिलो चरणको बन्द प्रशिक्षण रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको थियो। त्यहाँ तीन टोली बनाएर राउन्ड रोबिनको आधारमा खेल खेलाइएको थियो। जसबाट २४ खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट भएका थिए। दोस्रो चरणबाट ६ खेलाडी बाहिरिएसँगै नेपालले १८ सदस्यीय टोली घोषणा गरेको हो।
यू–१९ नेपाली टोलीमा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अलि, सन्तोषकुमार यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल, अमर मिश्र छन्।
प्रतिक्रिया दनुहोस्