काठमाडौं : चालु आर्थिक वर्ष २०८१र८२ को ८ महिना (साउन-फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ ।
यो संख्या गत आव २०८०र८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो । नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै विदेशिने गरेका छन् । प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ । यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको छ । विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ स य१७ जनाले श्रम स्वीकृति लिएका छन् । यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ । यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ । गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ । यस वर्ष फागुनमा जम्मा ३ हजार ७ सय १५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ । जापानमा १ हजार ९ सय ६६ र कोरियामा १ हजार ८ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन् ।
प्रतिक्रिया दनुहोस्