काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तीव्र तयारी गरेको छ। आगामी चैत ७ गतेदेखि हुने एसइई परीक्षाका लागि प्रश्नपत्र छपाइ शुरु भइसकेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा उपनियन्त्रक तारानाथ निरौलाले गत मंगलबारदेखि नै सरकारकाे स्वामित्वमा रहेकाे सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा एसइई परीक्षाको प्रश्नपत्र छपाइ थालिएको जानकारी दिए।
उनका अनुसार सुरक्षाकर्मीको तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ भइरहेको छ। उनले पाँच लाख १६ हजार ७७९ जना परीक्षार्थीहरूका लागि प्रश्नपत्र छाप्ने बताए। ‘केही बढी नै प्रश्नपत्र छाप्नुपर्ने हुन्छ, त्यसैले पाँच लाख २५ हजार जनाका लागि भनेर प्रश्नपत्र छाप्छौँ’, उनले भने।
फागुनभित्र सबै ठाउँमा प्रश्नपत्र पुग्ने
परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा उपनियन्त्रक निरौलाले यो फागुनभित्र सबै जिल्ला(७७) वटैमा प्रश्नपत्र पुर्याइसक्ने बताए। उनका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशलगायत विकट जिल्लामा फागुन १५-२० सम्म प्रश्नपत्र पुर्याइनेछ।
त्यसपछि दोस्रो चरण कोशी लगायत प्रदेश जिल्लाहरूमा पठाइनेछ। ‘हामी फागुन १५ गतेदेखि चरणबद्ध रूपमा जिल्लामा छापिएको प्रश्नपत्र पठाउन थाल्छौँ, फागुनभित्रमा सबै जिल्लामा पठाइसक्ने लक्ष्य छ’, उनले भने।
करिब पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान
यो वर्षको एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी हुने बोर्डको अनुमान छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा उपनियन्त्रक निरौलाले हालसम्म जिल्लाहरूबाट फाराम भरेको तथ्यांक नआएकाले यकिन नभएको जानकारी दिए।
उनका अनुसार कक्षा ९ मा भने चार लाख ७३ हजार विद्यार्थीहरूले रजिष्ट्रेशन भरेका छन्। ‘एसइई परीक्षाको फाराम भरेको संख्या चाहिँ हालसम्म ३६ जिल्लाबाट मात्रै आएको छ,अरूको आउने क्रम जारी छ, सबै ठाउँबाट फाराम भरेको विद्यार्थी संख्या आएपछि मात्रै यकिन जानकारी हुन्छ’, उनले भने। बोर्डका अनुसार गत वर्ष (२०८०) सालको एसइईमा परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए।
२१ सय परीक्षा केन्द्र तोकिने
यो वर्षको एसइई परीक्षामा देशभर करिब दुई हजार एक सय परीक्षा केन्द्र तोकिने अनुमान छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा उपनियन्त्रक निरौलाका अनुसार उक्त परीक्षा केन्द्रको संख्या जिल्ला सिडिओबाट तोक्ने र परीक्षा केन्द्र संख्या आउनेछ।
‘हाम्रो अनुमानमा करिब २१ सय परीक्षा केन्द्र तोकिन्छ’, उनले भने। गत वर्ष उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए। जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियाे। एसइई परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। यो वर्षको परीक्षा भने चैत ७ गतेदेखि शुरु भएर १९ गते सकिनेछ।
उनले उक्त परीक्षाका लागि तीव्र रूपमा तयारी गरिरहेको पनि बताए। एसइई परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा, संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ।
प्रतिक्रिया दनुहोस्