पोखरा : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताएका हुन् ।
‘नेपालमा ६ जना महिलाको मृत्यु हुने, त्यसमा ४ जना पाठेघरको क्यान्सरबाट मृत्यु हुने कुरा सामान्य विषय होइन,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘मेरो आमा, दिदीहरू, मेरा समकालीन साथीहरू थुप्रैको क्यान्सरका कारण मृत्यु भयो । थुप्रैले यो समस्या बोकेर बाँचिरहनुभएको छ ।अहिलेका किशोरी, बहिनीहरू, छोरीहरूलाई भ्याक्सिन उपलब्ध गराउन सक्यौं भने भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट कसैले ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ थियो । त्यसैका निम्ति यो खोप अभियान सुरु गरेको पौडेलले बताए ।
अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र जसमा क्यान्सर देखिन्छ उनीहरूको उपचार गर्ने पौडेलले बताए । क्यान्सर लागेको पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरुका लागि निस्शुल्क गराउने तयारी भइरहेको पौडेलको भनाइ थियो । अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई निस्शुल्क गर्नेगरी व्यवस्था गरिने बताएका छन् । ‘किमो गर्न असाध्यै महंगो भएको, औषधि अत्यन्तै अनियन्त्रित रहेको, जति पैसा लिए पनि हुनेजस्तो स्थिति बनेको छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘त्यसैले यसलाई व्यवस्थित गर्दै सर्वसुलभ र निस्शुल्क गर्ने प्रक्रियामा हामीहरू लागिरहेको स्थिति छ ।’
उनले क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने जानकारी दिए । अहिले देशभरका ८ हजार २ सय विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाउन ५४ हजार जनशक्ति परिचालन गरिएको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । अहिले आफूहरूले उपचार प्रणालीमा काम गरिरहेको र अब निरोधात्मक प्रणालीमा पनि काम गर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचार सर्वसुलभ गराउँदै लैजाने, नसक्नेलाई निस्शुल्क बनाउने र विमालाई व्यवस्थित गर्दै योगदानमा आधारित बनाउँदै लैजाने पौडेलको प्रतिवद्धता थियो ।
मेयर धनराज आचार्यले पोखराका २ सय ७५ विद्यालयमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए । पोखरामा २३ हजार १० देखि १४ वर्षसम्मका नानीहरुलाई खोप लगाउने उनको भनाइ छ । पोखरा वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले नेपालमा भयावह रुपमा रहेको पाठेघरको मुखको क्यान्सर भविष्यमा न्युनीकरण हुने बताए । उनले पोखरामा पनि स्वास्थ्यमन्त्रीबाटै खोप लगाउने अभियान सुरु भएको भन्दै यसलाई सबै परिवारमा सन्देश पुर्याउनुपर्ने र सबै नानीहरुको पहुँचमा पुर्याउनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दनुहोस्