धनगढी । सुदूरपश्चिममा प्रहरीको जागिर लगाइदिने भन्दै २ लाख असुली गरेको पाइएको छ । प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत सहायक प्रहरी हवल्दार केशवदत्त भट्टले रकम असुली गरेको पाइएको हो ।
भट्टले बझाङ्गका बिरेन्द्र धामीबाट पटकपटक गरि सो रकम असुली गरेको पिडित धामीले बताएका छन् ।
धामीका अनुसार उनले भट्टलाई दिपायलबाट प्रहरी जवानमा जागिर लगाइदिन भन्दै पटकपटक गरि २ लाख रुपैयाँ बुझाइसकेका छन् । कल २४ न्युजले प्राप्त गरेको प्रमाणका आधारमा भट्टले धामीसंग पहिलोपटक २०८० चैत २७ गते ६४ हजार ८ सय रुपैयाँ र ३५ हजार २ सय रुपैयाँ गरि कुल १ लाख रुपैयाँ लिएको देखिन्छ । सो रकम धामीले भट्टलाई भारतबाट पठाएका छन् ।
त्यसपछि धामीले २०८१ बैशाख ९ गते २० हजार, प्रभु मणि ट्रान्सफरबाट १० हजार र अन्य माध्यमबाट ५० हजार १ सय ६० रुपैयाँ गरि कुल १ लाख रुपैयाँ लिएको देखिन्छ । तर जागिर खान भन्दै २ लाख रुपैयाँ बुझाउँदा पनि जागिर खान नसकेपछि उनले भट्टसंग पैसा फिर्ता मागेका थिए ।
भट्टले असुली गरेको सबै पैसा फिर्ता गर्न नसकेपछि जागिर लगाइदिने भन्दै भट्टले चलाएको असुलिधन्दाको पोल खुलेको हो । धामीका अनुसार भट्टले असुलेको २ लाखमध्ये हालसम्म ३० हजार रुपैयाँ मात्र फिर्ता गरेका छन् ।
त्यसो त भट्टले धामीलाई फिर्ता गर्न बाँकी १ लाख ७० हजारको चेक पनि दिएका छन् । तर २०८१ भदौ २० गतेको मितिमा काटिएको चेक अझैसम्म पनि साटिएको छैन । भट्टले दिएको चेक पटकपटक साट्न बैंक जाँदा पनि खातामा पैसा नै नभएपछि नसाटिएको धामीले बताएका छन् ।
यता प्रहरी सहायक हवल्दार भट्टले पनि धामीसंग २ लाख रुपैयाँ लिएको स्वीकारेका छन् । उनले धामीका दाइ रामबहादुर जाग्रीबाट पैसा लिएको बताएका छन् । बझाङको छबिस पाथीभेरा गाउँपालिका-७ का धामीलाई जागिरका लागि भनसुन गरिदिने भन्दै २ लाख लिएको, ३० हजार फिर्ता गरेको र बाँकी १ लाख ७० हजार खर्च भएको बताएका छन् ।
प्रतिक्रिया दनुहोस्