काठमाडौँ : महालक्ष्मी विकास बैंकले वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार आयोजित २३ औँ वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित भएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा राजधानीमा सम्पन्न साधारणसभाबाट २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.ब. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् ।
बैंकले आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयर धनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दनुहोस्