धनगढी । हुम्लाका रतन बहादुर बढुवाल र कृष्ण बहादुर बढुवाल दिनभर पिठ्युमा राडीपाखी बोकेर बजार-बजार घुम्छन । भेडा र च्यांग्राको रौँबाट बनाइएका राडीपाखी बेचेरै बढुवाल बन्धुको दैनिकी बित्छ ।
उनीहरु राडीपाखी बेच्न धनगढी, अत्तरिया हुँदै महेन्द्रनगरसम्म पुग्छन ।
खासगरि जाडोयाममा राडीपाखी बेच्ने काममा सक्रिय हुने बढुवाल बन्धुले काम्लो, दन, कोट र स्टकोट लगायत विभिन्न प्रकारका लुगा कपडा बनाउने र बेच्ने गरेका छन् । हुम्लाको सिज्जा घर भएका बढुवाल बन्धुले कैलाली मात्र नभएर देशभरमा अन्य विभिन्न जिल्ला र शहरहरुमा पनि राडीपाखी बेच्ने गरेका छन् ।
राडीपाखी बेचेरै आफ्नो र आफ्नो परिवारको खर्च चलाउँदै आएको उनीहरुले बताएका छन् ।
राडीपाखी बेचेर कमाएको पैसाले घरखर्च, बालबच्चाको पढाइ खर्च र अन्य खर्च जुटाउने गरेको उनीहरुको भनाई छ । भेडा र च्यांग्राको रौँबाट बनेका लुगा स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले बजारमा माग पनि राम्रै भएको उनीहरुले बताएका छन् ।
हुम्लामा हिउँद महिनामा बढि हिउँ पर्ने र अन्य व्यवसाय गर्न कठिन हुने हुँदा आफैंले उत्पादन गरेका कपडा बिक्रिवितरण गर्न तराई झर्ने गरेको उनीहरुले बताएका छन् ।
तर स्थानीय उत्पादनको बजारीकरणमा प्रयाप्त पहल नहुँदा समस्या हुनेगरेको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दनुहोस्