१५ अर्ब रुपैयाँ खर्चेर काठमाडौं विमानस्थलमा के-के बन्दैछ ?

काठमाडौँ : सन् २०२६ पछि वार्षिक झन्डै १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा पूर्वाधार विस्तारका काम धमाधम भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरणमातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार हरेक रात विमानस्थलभित्र तीनवटा फरक-फरक ठेक्कामा पूर्वाधार विस्तारका काम भइरहेका छन् ।

आयोजना निर्देशक श्रेष्ठका अनुसार, आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुवै क्षेत्रका झन्डै १ करोड यात्रुलाई वार्षिक सेवा दिने उद्देश्यले धावनमार्ग जोड्ने ट्याक्सीवे, अन्तर्राष्ट्रिय एप्रोन, ह्यांगरलगायतका काम भइरहेका छन् । उनका अनुसार नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र उक्त एप्रोनलाई उत्तरतर्फको रनवेसँग जोड्ने ट्याक्सीवे निमार्ण भइरहेको छ । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको हो । यो २०२६ फेब्रुअरीमा सकिने छ । यो काम चिनिया ठेक्दार कम्पनी एभिक इन्टरनेसनले गरिरहेको छ ।

khadya

विमानस्थलभित्रको दोस्रो ठेक्का हो जहाजघर (ह्यांगर)का लागि पूर्वाधार निर्माण । विमानस्थलको पूर्वी भागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यति एयरलायन्स, श्री एयरलायन्सलगायतका वायुसेवा कम्पनीहरूका लागि करिब ४ अर्ब रुपैयाँमा ह्यांगर क्षेत्र निर्माण भइरहेको छ । यो काम सन् २०२२ नोभेम्बरदेखि सुरु भएको हो । यो सन् २०२६ अक्टोबरमा सम्पन्न हुने छ । यस्मा एसियाली विकास बैंकको ७८ प्रतिशत ऋण लगानी छ भने बाँकी २२ प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको रहेको छ । यो परियोजनामा चिनियाँ कम्पनी एभिक/केडीएन/सीसीईसीसी जेभी रहेका छन् ।

विमानस्थलभित्रको तेस्रो परियोजना धावनमार्गसँग समानान्तर ट्याक्सी–वे निर्माण सञ्चालन भइरहेको छ । सन् २०२२ डिसेम्बरदेखि सुरु भएको यो परियोजनाको समापन २०२६ अक्टोबरमा हुने छ । ४ अर्ब रुपैयाँहाराहारी लगानीको यो परियोजना चिनियाँ कम्पनी गान्सुले निर्माण गरिरहेको छ ।

विमानस्थलको एकमात्र धावनमार्गसँग जोडिएका नजिकैका निर्माणका काम गर्न कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्मको समय तोकिएको छ । यो अवधिमा हुने अन्तर्राष्ट्रिय उडानलाई कटौती गरिएको छ । विमानस्थलले चैत १८ गतेसम्म राति उडान रोकेर काम गर्ने जनाएको छ । धावनमार्गबाट ७५ मिटरसम्म फैलिएको संवेदनशील क्षेत्रमा माटो निकाल्ने, ढलान गर्नेलगायतका काम गर्नुपर्ने भएकाले कात्तिक २३ गतेदेखि राति १० बजेदेखि विमानस्थल बन्द गरेर निर्माण कार्यलाई तीव्रता दिइएको हो ।

हाल तीनवटा परियोजनाका लागि ललितपुरको गोदावरी, छम्पी, टीकाभैरव, लेले, धादिङको ओखरपौवा, काभ्रे,रोशी, छैमले, डुकुछाप, सुन्दरीजल, मेलम्ची, धुनीबेंसीलगायतका स्थानबाट माटो, गिट्टी, ढुंगा, बालुवालगायतका प्राकृतिक स्रोत ल्याउने काम भइरहेको छ । आयोजनाका अनुसार हरेक रात ३ सय हाराहारी टिपरले ९ सय ट्रिप (खेप) स्थानीय निर्माण सामग्री ओसार्ने गरेका छन् । यी कामका लागि चौबीसै घण्टा करिब ४ सय कामदार विमानस्थलभित्र परिचालन हुने गरेका छन् ।

काठमाडौं विमानस्थल ६ सय ७० रोपनीमा फैलिएको विमानस्थलभित्र भइरहेको यो काम हालसम्मकै सबैभन्दा ठूलो रहेको आयोजनाले जनाएको छ । निर्माण सामग्री तिनकुने गैरीगाउँ र गुहेश्वरी नाकाबाट विमानस्थलभित्र बनाइएका स्रोत केन्द्रमा जम्मा गरिन्छ । यसैबीच सिनामंगलमा रहेको आयल निगमलाई विमानस्थलको उत्तरतर्फ गुहेश्वरी वनसँग जोडिएको ८५ रोपनी क्षेत्रफलमा सारिने भएको छ ।

यी निर्माण कार्य सकिएपछि धावनमार्गको केन्द्रबाट ट्याक्सीवेको दूरी १ सय ७२ मिटर पर हुने छ । अहिले धावनमार्ग र ट्याक्सीवेबीचको दूरी १ सय १० मिटर मात्रै रहेको छ । यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन । ट्याक्सीवे र धावनमार्गमा अहिले ठूला जहाज एकै पटक ओहोरदोहोर गराउन सकिँदैन । त्यस्तै अन्तर्राष्ट्रिय विमान पार्किङ ११ वटाबाट १८ पुग्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार