शेयर बजारमा मन्त्रीहरूको आकर्षणः कसको लगानी कति ?

काठमाडौं । संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सरकारका प्रमुख र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीहरूको उल्लेख्य लगानी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न कम्पनीहरूमा देखिएको छ ।

अर्थमन्त्रीदेखि कृषिमन्त्रीसम्मले शेयर बजारमा करोडौँ लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उक्त विवरण अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विभिन्न कम्पनीमा करोडौँ रुपैयाँ शेयर लगानी रहेको देखिन्छ । उनको विभिन्न पाँच कम्पनीमा शेयर रहेको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१,०९३ कित्ता, सांग्रिला विकास बैंकको प्रमोटर शेयर २५,७६२ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख रुपैयाँ, ठुलो खोला जलविद्युतमा ६० लाख र अपर मादी जलविद्युतमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।

अर्थमन्त्री वाग्लेले उक्त शेयर अन्तर्राष्ट्रिय रोजगारी र निजी निवास बिक्री गरेर खरिद गरेको भनेका छन् । यसबाहेक उनले २०८२ सम्ममा अन्य हाइड्रोको शेयर बिक्री गरी लगानी गर्ने शर्तमा शेयर प्राप्त गरेको विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालको विभिन्न कम्पनी र बैंकहरूमा लगानी रहेको पाइएको छ । उनको पिक एण्ड ड्रपमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

यसका साथै बीपीडब्लु माइक्रोफाइनान्समा २५६० कित्ता, ओम मेघश्री फर्मास्युटिकल्समा ५००० कित्ता, ग्लोबल आइएमई र नबिलमा १५९ कित्ता र अन्यमा १७३ कित्ता शेयर रहेको छ ।

मन्त्री खनालको परिवारका सदस्यहरूको नाममा पनि ठुलो मात्रामा शेयर देखिएको छ । शिशिर खनालकी श्रीमती अच्युता अधिकारीको नाममा १५ कम्पनीको शेयर रहेको विवरणमा उल्लेख छ ।

अच्युताको नाममा चन्द्रागिरी हिल्सको ३० कित्ता, जोशी हाइड्रोपावरको २०० कित्ता, मुक्तिनाथ विकास बैंकको ११२ कित्ता, नेपाल बैंकको २०० कित्ता, नेशनल हाइड्रोपावरको १०० कित्ता, नबिल सिपको ४६३३ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०० कित्ता, नेपाल रिपब्लिक मिडियाको १२५ कित्ता, राधी हाइड्रोपावरको २४ कित्ता, समता लघुवित्तको २० कित्ता, सुपरमादी हाइड्रोपावरको १०० कित्ता, शिवश्री हाइड्रोपावरको १५० कित्ता, युनियन हाइड्रोपावरको २०० र उन्नती सहकार्य लघुवित्तको ७० कित्ता शेयर रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूमा कुल २०,९७८ कित्ता शेयर रहेको छ । जसको वर्तमान मूल्य १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबर देखाइएको छ ।

गृहमन्त्री सुदन गुरुङसँग २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको शेयर रहेको छ । उक्त शेयर प्राप्तिको स्रोत उनले व्यवसाय पैतृक सम्पत्ति र लगानीबाट गरेको विवरणमा उल्लेख गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको विभिन्न कम्पनीमा एक लाख बराबरको शेयर लगानी रहेको छ । यस्तै, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेताको विभिन्न कम्पनीमा दुई सय भन्दा बढी कित्ता शेयर रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको भगवती हाइड्रोपावरमा ६५२ कित्ता र एसएसआईएसमा १० हजार कित्ता शेयर लगानी रहेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको विभिन्न कम्पनीमा २ लाख ५० हजार रुपैयाँ बराबरको शेयर लगानी रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको विभिन्न कम्पनीको ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँ बराबरको शेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री बालेन शाहको शेयर बजारमा लगानी नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बालेन नेतृत्वको सरकार अन्य कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला बालबालिकामन्त्री सीता वादी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले शेयर लगानी नगरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार