धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी : विद्यार्थी पढाई सँगै सीप सिक्दै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको शुक्रबार ‘बुक फ्रि फ्राइडे’ (किताबविनाको शुक्रबार) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत विद्यार्थीहरू हप्ताको एक दिन किताब बोकेर होइन, व्यवहारिक सीप सिक्ने उद्देश्यसहित विद्यालय पुग्ने गरेका छन् ।

गत वर्षदेखि सञ्चालनमा आएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम अहिले विभिन्न विद्यालयमा विस्तार गरिएको छ । कार्यक्रमअन्तर्गत धनगढी–९ स्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू मोबाइल बनाउने तथा मर्मत गर्ने तालिममा सक्रिय छन् ।

किताबको सट्टा स्क्रु ड्राइभर, सर्किट बोर्ड र मोबाइलका विभिन्न पार्ट्ससँग अभ्यास गरिरहेका विद्यार्थीहरूले छोटो समयमै उल्लेखनीय प्रगति गरेका छन् । उनीहरूले मोबाइल रिपेयरिङका आधारभूतदेखि जटिल कार्य-जस्तै डिस्प्ले परिवर्तन र मदरबोर्ड मर्मत—समेत सिकिसकेका छन् ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत घुम्मनसिंह बडायकका अनुसार विद्यार्थीलाई सानै उमेरदेखि व्यवहारिक सीपसँग जोड्नु अहिलेको आवश्यकता हो । ‘हामीले यहाँ मोबाइलको संरचना बुझ्ने, समस्या पहिचान गर्ने र समाधान गर्ने सिप सिकाइरहेका छौँ । छोटो समयमै विद्यार्थीहरूले राम्रो प्रगति गरेका छन्,’ उनले भने ।

प्रशिक्षकहरूका अनुसार विद्यार्थीहरूमा सिक्ने इच्छा र लगनशीलता उच्च देखिएको छ । विद्यालयमा सिकाइएको आधारभूत ज्ञानलाई उनीहरूले छिट्टै आत्मसात् गरिरहेका छन् । यस सीपलाई भविष्यमा व्यवसायमा रूपान्तरण गर्ने सम्भावना पनि देखिएको प्रशिक्षकहरूको भनाइ छ ।

विद्यार्थीहरू स्वयं पनि कार्यक्रमबाट उत्साहित छन् । ‘यो सिपले भविष्यमा धेरै सहयोग गर्छ। पढाइसँगै केही गर्न सक्ने बनिरहेका छौँ, जसले आत्मनिर्भर बन्न सजिलो बनाउनेछ,’ उनीहरूले बताएका छन् ।

‘बुक फ्रि फ्राइडे’ कार्यक्रमले परम्परागत शिक्षण प्रणालीभन्दा बाहिर निस्केर व्यवहारिक ज्ञान र सीप विकासमा जोड दिएको छ । यसले विद्यार्थीहरूलाई परीक्षा केन्द्रित शिक्षाबाट जीवन उपयोगी सीपतर्फ उन्मुख गरिरहेको देखिन्छ ।

यो कार्यक्रम गत वर्ष ठेकराज माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो भने चालु वर्षमा भवानी माध्यमिक विद्यालय र सिद्धनाथ माध्यमिक विद्यालयमा विस्तार गरिएको छ ।

स्थानीय तहको यस्तो पहलले शिक्षा र रोजगारीबीचको दूरी घटाउँदै विद्यार्थीहरूलाई सक्षम र आत्मनिर्भर बनाउने धनगढी उपमहानगरपालिकाको विश्वास रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार