२९ चैत, काठमाडौं । निर्माणाधीन नागढुंगा–मुग्लिङ सडकको अनुगमनमा निस्किएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरुले सुरक्षा माग गरेका छन् ।
ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले गृहमन्त्री गुरुङसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका हुन् ।
उपाध्यक्ष खड्काले निर्माणाधिन नागढुंगा–नौबिसे सडकखण्डमा ठेक्का लिएर काम गर्दै आइरहेका छन् ।
आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारबाही गर्न माग गरे ।
निर्माणाधीन नागढुंगा–मुग्लिङसडकमा काम गरिरहेका खड्काले निर्माण सम्पन्न भएर हस्तान्तरण भएको ५ वर्षसम्म मर्मतको जिम्मेवारी निर्माण कम्पनीको रहने जानकारी गराए ।
सडक निर्माणमा गुणस्तरीयता कायम गर्न फास्टट्र्याकबाट निर्माण सामग्री ल्याएर काम गर्नुपरेको उनको भनाइ थियो ।
सरकारले छुट्याएको क्षेत्रबाट पर्याप्त निर्माण सामाग्री उत्खनन गर्न नपाउँदा आयोजनाले लक्ष्य अनुसारको काम गर्न नसकेको उनले जानकारी गराए ।
आयोजनालाई आवश्यक निर्माण सामग्री उत्खनन् गर्न आफैंले किने जग्गामा समेत मुद्दा लड्नु परेको उपाध्यक्ष खड्काले गृहमन्त्री गुरुङ सहितको टोलीलाई जानकारी गराए ।
निर्माण आयोजनालाई आवश्यक नदीजन्य निर्माण सामाग्री सरकारले अनुमति दिएको स्थानबाट उपलब्ध गराउन माग गरे ।
उनले आयोजना क्षेत्रमा रहेका नदीजन्य निर्माण सामग्रीको प्रशोधन केन्द्र क्रसरहरु चल्ने वातावरण बनाउन समेत माग गरे । सडक निर्माणको सिजन २ महिना बाँकी रहेकाले सरकारले बिटुमिन र पेट्रोलिय पदार्थको सहज उपलब्धता गराए कामले गति लिने जानकारी दिए ।
खड्काले भने, ‘गृहमन्त्रीज्यू कुनै पनि नेपालका हाइवे बन्दा कसैले डिस्ट्रब गर्छ भने त्यसलाई सार्वजनिक मुद्दा लगाउनुपर्छ । तुरुत २४ घण्टाभित्र कारबाही हुनुपर्छ । त्यस्तो खाले कानुन बनाउनुपर्छ । सडक निर्माणको गुणस्तरको हामी ग्यारेन्टी लिन्छौँ । सडक बनाएर हस्तान्तरण गरेको ५ वर्षसम्म पनि हामीले यो सडकको जिम्मा लिने गरेका छौँ । अहिले गुणस्तरीय निर्माण सामाग्री नभएर हामीले समन्वय गरिरहेका छौं ।’
मन्त्री गुरुङले निर्माण आयोजनाहरुमा अनावश्यक पैसा उठाउने गरेको गुनासो आफूले विगतदेखि नै सुन्दै आएको बताए ।
पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायी माथीको धरपकड सह्य नहुने भन्दै मन्त्री गुरुङले त्यस्ता कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी सिडियो र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए।




प्रतिक्रिया दिनुहोस्