टर्कीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मुद्दा गाजा क्षेत्रमा जाँदै गरेको राहत अभियानमाथि भएको कथित आक्रमणसँग सम्बन्धित रहेको जनाइएको छ ।
इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गर्दै सबै आरोपितलाई कडा सजायको माग गरेको छ । आरोपपत्रमा जन्मकैदसँगै ११ सय २ वर्षदेखि ४५ सय ९६ वर्षसम्म कैद सजायको माग गरिएको उल्लेख छ ।
आरोपितहरूविरुद्ध मानवताविरुद्धका अपराध, नरसंहार, गैरकानुनी थुनछेक, यातना तथा लुटपाटजस्ता गम्भीर अभियोग लगाइएको छ । यो घटना गत वर्ष सेप्टेम्बरमा भएको थियो, जतिबेला ‘सुमुद फ्लोटिला’ नामको राहत अभियान गाजातर्फ अघि बढिरहेको थियो ।
उक्त जहाजहरूमा खाद्यान्न, औषधि तथा अन्य आवश्यक राहत सामग्री बोकेर पठाइएको थियो । अनुसन्धानका अनुसार अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पुगेका बेला इजरायली नौसेनाले ती जहाज रोकेको आरोप छ । सैनिकहरू जहाजमा चढेर कार्यकर्तालाई नियन्त्रणमा लिएको र जहाजलाई अगाडि बढ्न नदिएको बताइएको छ ।
टर्कीले उक्त कारबाही अन्तर्राष्ट्रिय कानुन विपरीत भएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमै राहत सामग्री बोकेका जहाज रोकिनु गम्भीर अपराध भएको ठहर गर्दै यो मुद्दा दर्ता गरिएको जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्