नेकपामा एक साताको बहसबाट निस्किएन निष्कर्ष, नयाँ वर्षमा कस्तो आउला निर्णय ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समिति बैठक एक साता बहस भएर स्थगित भएको छ । फागुनमा भएको निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोगेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले चैत १९ गते संयोजन समितिको बैठक पहिलो पटक बोलाएका थिए । बैठकमा प्रचण्डले चुनावी समीक्षा सम्बन्धी १० पेजको प्रतिवेदन पेस गरी सदस्यहरूलाई अध्ययनका लागि तीन दिन बैठक स्थगित भएको थियो । चैत २३ गतेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक प्रचण्डको प्रतिवेदनमाथि लगातार ६ दिन बहस भयो । शनिवार नै सम्पन्न हुने भनिएको बैठक फेरि स्थगित गरिएको छ ।

बैठक २०८३ साल वैशाख ३ गतेसम्म स्थगित गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार नेताहरूले बोल्ने क्रम सकिएकाले वैशाख ३ वा ४ गते निर्णय आउनेछ ।

‘नयाँ वर्ष अगाडि नै निर्णय सार्वजनिक गर्ने भनिएको थियो । तर बैठक लम्बिएकाले वैशाख ३ वा ४ गते बस्ने बैठकले निर्णय गर्नेछ’, रातोपाटीसँग उनले भने ।

कार्य संयोजन समिति बैठकले महाधिवेशनको मिति घोषणा, केन्द्रीय कार्य समिति गठन, नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी बाँडफाँट र एकतालाई पूर्णता दिने गरी निर्णय आउन सक्ने बताए ।

‘बैठकमा पार्टी एकतालाई पूर्णता दिने, कार्य विभाजन गर्ने, महाधिवेशनको मिति घोषणा गर्ने लगायतका एजेन्डा पेस भएका छन् । संयोजक र सहसंयोजक कमरेडले अब बस्ने बैठकमा निर्णय सुनाउनुहुन्छ’, खतिवडाले भने ।

बैठकमा विशेष गरी चुनावी परिणामबारे विभिन्न कोणबाट बहस भए पनि कुनै निष्कर्षमा नपुगेको उनको भनाइ छ । पार्टी रूपान्तरण सहित नेतृत्व हस्तान्तरणको विषयमा सदस्यहरूले आ–आफ्ना धारणा राखेको खतिवडाले जानकारी दिए ।

‘एकतालाई पूर्णता नदिई पार्टीले एउटा विधि बनाएर एकै पटक महाधिवेशनमा जाने कि वडा तहसम्म एकतालाई पूर्णता दिएर त्यसपछि महाधिवेशनको तयारीमा जाने भन्ने विषयमा बहस केन्द्रित छ’, उनले भने, ‘विशेषतः चुनावी परिणामबारे नै बढी छलफल भयो । निर्वाचन अगाडि एमाले सहितको समाजवादी मोर्चा बनाउन नसक्नु, कहिले एमाले–माओवादी, कहिले कांग्रेस–माओवादी–एकीकृत समाजवादी, कहिले एमाले–माओवादी–एकीकृत समाजवादी गठबन्धन बनाउँदा जनतामा निराशा थपियो । हामीले केन्द्रमा पार्टी एकता गर्‍यौँ तर वडा तहसम्म भावनात्मक रूपमा एकतालाई पूर्णता दिन सकेनौँ । यी लगायत धेरै कोणबाट बहस भयो ।’

अर्का नेता गंगानारायण श्रेष्ठले बैठकमा वैचारिक र सैद्धान्तिक कोणबाट बढी बहस भएको बताए । चुनावी समीक्षा, पार्टीको कमजोरी र आगामी कार्यभार सम्बन्धी सबै नेताहरूले धारणा राखेपनि निष्कर्षमा नपुगेको श्रेष्ठले जानकारी दिए ।

‘मौजुदा केन्द्रीय समितिलाई भङ्ग गरेर महाधिवेशन आयोजक समिति बनाएर जाने कि पार्टी एकतालाई पूर्णता दिएर महाधिवेशनमा जानेबारे फरक–फरक मत आएका छन् । तल्लो तहसम्म एकताको मोडालिटी, कार्य विभाजन र आगामी कार्यक्रमबारे पनि फरक फरक धारणा आएका छन् । यी सबै धारणाको आधारमा संयोजकले निर्णय सुनाउनुहुन्छ’, उनले भने ।

प्रचण्डको प्रतिवेदनमा ६ महिनाभित्र महाधिवेशन गर्ने र पालिकादेखि वडा तहसम्म अधिवेशन सम्पन्न गर्ने उल्लेख छ । नेता प्रकाश ज्वालाले बैठकमा संयोजकको प्रतिवेदनमाथि ४० जना सदस्यले मौखिक र दुई जना लिखित धारणा राखेका जानकारी दिए । ज्वालाका अनुसार बिरामीका कारण कृष्णबहादुर महरा र रञ्जिता श्रेष्ठले लिखित धारणा बुझाएका थिए भने नेता भीम रावलले प्रतिवेदनमाथि टिप्पणी नगरी सामान्य भनाइ राखेका थिए । वैशाख ३ गते बस्ने बैठकले नेताहरू कार्य विभाजन, सचिवालय गठन र कार्य संयोजन समिति सदस्यहरू जिम्मेवारी तोकिन सक्ने उनले बताए ।

‘केन्द्रीय कार्य समितिले नै पूर्णता नपाएकाले जिम्मेवारी दिने भन्ने हुँदैन । केन्द्रीय सचिवालय गठन र कार्य संयोजन समितिका सदस्यहरूले जिम्मेवारी पाउन सक्छन्’, उनले भने, ‘महाधिवेशनको मिति तय, पार्टी एकतालाई पूर्णता दिने र जनवर्गीय सङ्गठनहरूको समायोजन हुने गरी निर्णय आउला ।’

कात्तिक १९ गते साबिक नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । निर्वाचन अगाडिसम्म बढेर २५ घटक पुगेको छ । केन्द्रमा प्रचण्डलाई संयोजक र माधव कुमार नेपाललाई सह–संयोजक तोक्ने बाहेक नेताहरूको कार्य विभाजन गरिएको छैन । केन्द्रीय समिति दुई हजार ४९९ सदस्य बनाएको छ । विधान बमोजिम एकता घटकमा जोडिएका प्रमुख नेता रहेको ४५ जनाको संयोजन समिति गठन भएको छ । यस्तै केन्द्रीय कार्य समिति र केन्द्रीय सचिवालय गठन भएको छैन । केन्द्रीय कार्य समिति ६०१ सदस्यीय रहेन विधानमा व्यवस्था छ । सचिवालय १२५ सदस्यीय हुने नेता ज्वालाले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार