इन्जिनियरबाट सांसद अनि मन्त्री : रामजी यादवले दुई महिनामा मारेको छलाङ

नेपालको राजनीतिमा पछिल्लो समय एउटा यस्तो लहर देखिएको छ, जहाँ परम्परागत राजनीतिको अनुभव शून्य भएका युवाहरू सिधै राज्य सञ्चालनको बागडोर सम्हाल्न आइपुगेका छन्। यो लहरको पछिल्लो र चकित पार्ने पात्र बनेका छन्– ३० वर्षीय विद्युत् इन्जिनियर रामजी यादव।

सप्तरीको राजविराजबाट संसदीय राजनीतिमा उदाएका यी तन्नेरीको राजनीतिक यात्रा जति संक्षिप्त छ, उति नै शक्तिशाली पनि। 

गत फागुनमा सम्पन्न निर्वाचनमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई पराजित गरेर संसद् छिर्दा धेरैले यसलाई घण्टीको लहरको परिणाम मात्र ठानेका थिए। 

शुक्रबार दिउँसो जब राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय ग‍र्‍यो, तब यादवको छलाङलाई देखेर चकित पर्नेहरूको संख्या बढेको छ।

किनकि, रास्वपाले यस चुनावमा १८२ सिट जितेको छ। जसमा बालेन्द्र शाह प्रधानमन्त्री छन्। अन्य १५ जना सांसद पनि मन्त्री छन्। 

डोलप्रसाद अर्याल सभामुख बने भने दीपकुमार साह मन्त्रीबाट पदमुक्त भए, जसकारण उनी तत्काल मन्त्री बन्ने सम्भावना न्यून छ। बाँकी १६५ जना सांसद मन्त्रीको लाइनमा भए पनि यादव सबैलाई उछिनेर मन्त्री पद प्राप्त गर्न सफल भएका हुन्। 

अप्रत्याशित जिम्मेवारी 
निवर्तमान श्रममन्त्री दीपककुमार साह विवादमा परेपछि रास्वपाले बिहीबार उनलाई पदमुक्त गरेको थियो। सोही रिक्त ठाउँमा पार्टीले यादवलाई पठाउने निर्णय गर्दा उनी स्वयं चकित परेको सुनाउँछन्। 

‘मलाई कसले अगाडि सारेको हो भन्ने कुरा थाहा छैन, अचानक संसदीय दलको बैठकमा मैले यसबारे जानकारी पाएको हुँ,’ मन्त्री नियुक्त भएपछि यादवले नेपालखबरसँग भने, ‘त्यसअघि कसैले केही भन्नुभएको थिएन। मेरो राजनीतिक इतिहास केही पनि छैन, अब बनाउने हो। म विद्यार्थी जीवनबाट यहाँ आएको हुँ, अरू केही इतिहास छैन।’

शून्य राजनीतिक पृष्ठभूमिबाट सिधै मन्त्रीको कुर्सीमा पुगेका उनी वाचापत्रका बुँदाहरूलाई भुईंमान्छेको जीवनसँग जोड्न केन्द्रित हुने बताउँछन्।

पेसाले विद्युत् इन्जिनियर यादव नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारका विज्ञ मानिन्छन्। सात वर्षसम्म इजिवल्र्ड इन्जिनियरिङ प्रालिको प्रबन्ध निर्देशकका रूपमा काम गरेका उनी आफूसँग् सफल व्यावसायिक अनुभव रहेको बताउँछन्।

जिल्लामा उनी नेताका रूपमा भन्दा समाजसेवीका रुपमा चिनिन्छन्। राजविराजमा सब–इन्जिनियरिङ कलेजको स्थापना, फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्रको पहल, रंगशालाको पूर्वाधार निर्माण र स्वास्थ्य चौकी भवन निर्माणमा उनले गरेको प्राविधिक नेतृत्वले नै उनलाई जनताको विश्वास दिलाएको दाबी गरे। 

उनले संवेदनशील मानिने श्रम मन्त्रालय कसरी सम्हाल्छन् र परम्परागत कर्मचारीतन्त्रसँग कसरी समन्वय गर्छन् भन्ने कुराले नेपालमा युवा र विज्ञको राजनीतिक भविष्यप्रतिको दृष्टिकोण तय गर्नेछ। उनी भने आफूले काम गरेर देखाउनेमा ढुक्क छन्।

१०० बुँदे वाचा नै आगामी मार्गचित्र
यादवले पार्टीको १०० बुँदे वाचापत्रलाई नै आफ्नो कार्यसम्पादनको मूल मन्त्र मानेको बताए।

‘पहिलो पटक पाएको अवसर सदुपयोग गर्न वाचापत्र नै लागि गाइडलाइन हो। त्यही अनुसार काम गर्छौं। व्यक्तिगत रूपमा राम्रो काम गर्छु,’ उनले भने। 

प्रोफेसनल रुपमा काम गर्ने बताउने उनी राजनीतिलाई सेवाभन्दा पनि नतिजामुखी बनाउनुपर्ने बताउँछन्।

‘रेस्पोन्सिबल र अकाउन्टेबल बन्नुप‍र्‍यो। जिम्मेवारीलाई इमानदार भएर पालना गर्नुप‍र्‍यो। जनताले चाहेको र खोजेको परिवर्तन अनुसारको काम गर्नुप‍र्‍यो,’ उनले भने। 

३० वर्षकै उमेरमा मन्त्रालयको चाबी पाएका उनका लागि यो ठूलो परीक्षा हो। किनकि पछिल्ला दिनमा नेपालको श्रम बजार अस्तव्यस्त छ, वैदेशिक रोजगारीका नाममा हजारौँ युवा ठगिएका छन्। सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्नुपर्ने चुनौती छँदैछ।

सबैभन्दा ठूलो तनाव पश्चिम एसियामा देखिएको छ। जहाँ १७ लाख बढी नेपाली रोजगारीमा गएको अनुमान छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार