काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, कर्मचारी व्यवस्थापनका लागि हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था मिलाउन तथा बिदा दिन नसकिएको अवस्थामा सट्टा बिदा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, प्रादेशिक अस्पतालहरूमा पनि यही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने व्यवस्था गर्ने, प्रादेशिक अस्पतालहरूमा समेत बुदाँ नं १ बमोजिमको व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई अनुरोध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्