एजेन्सी । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका शीर्ष डेमोक्रेटिक नेताहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउन संविधानको २५औं संशोधन उपयोग गर्ने सम्भावनाप्रति आफ्नो समर्थन जनाएका छन् । इरानसँगको तनावका बीच ट्रम्पले दिएका आक्रामक अभिव्यक्तिहरूका कारण उनलाई पदमुक्त गर्नुपर्ने माग चर्किएको हो ।
हाउस माइनोरिटी लिडर (विपक्षी नेता) हकीम जेफ्रिजले बुधबार आफ्ना सहकर्मीहरूलाई एक पत्र लेख्दै शुक्रबार दिउँसो ट्रम्प प्रशासनको जवाफदेहिता र २५औं संशोधनका बारेमा भर्चुअल ब्रिफिङ गरिने जानकारी दिएका छन् । यस ब्रिफिङको नेतृत्व न्यायिक समितिका वरिष्ठ सदस्य जेमी रस्किनले गर्नेछन् ।
जेफ्रिजले आफ्नो पत्रमा लेखेका छन्, ‘आश्चर्यजनक रूपमा ट्रम्पले ईस्टर सन्डेका दिन एक गालीगलौजपूर्ण बयान दिँदै युद्ध चर्काउने र एउटा सिंगो सभ्यतालाई नै समाप्त पार्ने धम्की दिए । हामी रिपब्लिकनहरूलाई आफ्नो दलभन्दा माथि उठेर देशप्रतिको कर्तव्य निर्वाह गर्न र यो पागलपन रोक्न डेमोक्रेटहरूलाई साथ दिन दबाब दिइरहनेछौं ।’
ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘आज राति एउटा सिंगो सभ्यता मर्नेछ’ भनी दिएको धम्कीपछि डेमोक्रेटिक सांसदहरूमा ठूलो आक्रोश पैदा भएको छ । ८५ भन्दा बढी डेमोक्रेटिक सांसद र केही सिनेटरहरूले ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने वा उपराष्ट्रपति जेडी भ्यान्स र मन्त्रिपरिषद्ले २५औं संशोधन प्रयोग गरी उनलाई हटाउनुपर्ने माग गरेका छन् ।
डेमोक्रेट नेतृत्व सुरुमा यस्ता कडा कदम चाल्न हिचकिचाए पनि तल्लो तहका सांसद र सर्वसाधारणको बढ्दो दबाबका कारण उनीहरू अहिले लचक देखिएका हुन् । एक वरिष्ठ प्रगतिशील सांसदका अनुसार, ‘पछिल्ला केही दिनमा ट्रम्पका कार्यहरू निकै डरलाग्दा थिए । त्यसैले नेतृत्वले अब कडा कदम चाल्नैपर्ने भएको छ ।’
अमेरिकी संविधानको २५औं संशोधनले राष्ट्रपति आफ्नो जिम्मेवारी निर्वाह गर्न शारीरिक वा मानसिक रूपमा असमर्थ भएको खण्डमा उपराष्ट्रपति र मन्त्रिपरिषद्को बहुमतले उनलाई पदबाट हटाउन सक्ने व्यवस्था गरेको छ ।
सांसद जेमी रस्किनका अनुसार, ‘संविधान यस्तो आपतकालीन अवस्थाका लागि पूर्ण नभए पनि २५औं संशोधन नै अहिलेको संघीय प्रतिक्रियाका लागि सबैभन्दा नजिकको बाटो हो ।’
डेमोक्रेटहरूले बिहीबार बिहान प्रतिनिधिसभामा इरान वार पावर्स रिजोलुसन पारित गर्ने प्रयास गर्ने घोषणा पनि जेफ्रिजले गरेका छन् । राष्ट्रपतिको युद्ध गर्ने शक्तिलाई सीमित पार्नु यस प्रस्तावको उद्देश्य हो । तर, रिपब्लिकनहरूले यस प्रयासलाई रोक्ने निश्चित देखिएको छ ।
सबै डेमोक्रटहरू भने यस कदमको पक्षमा छैनन् । केही मध्यमार्गी डेमोक्रेटिक सांसदहरूले यसलाई मूर्खतापूर्ण प्रयास भन्दै टिप्पणी गरेका छन् । उनीहरूका अनुसार, रिपब्लिकनहरूको नियन्त्रणमा रहेको संसद् र ट्रम्पकै मन्त्रिपरिषद्ले उनलाई हटाउने सम्भावना निकै कम छ ।
यसैबीच डेमोक्रेटहरूले बिहीबार क्यापिटल हिलको गेटमा पत्रकार सम्मेलन आयोजना गरी ट्रम्पका विवादास्पद धम्की र त्यसले विश्व शान्तिमा पार्ने असरबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्