पुष्पकमल दाहालले आफ्नो नाममा १४ कट्ठा जग्गाबाहेक कुनै पनि भौतिक सम्पत्ति नरहेको विवरण पेश गर्दै आएका छन्। तर, सार्वजनिक रूपमा देखिएको उनको पारिवारिक जीवनशैली भने त्यस दाबीभन्दा फरक र प्रश्न उठाउने खालको देखिन्छ। सशस्त्र द्वन्द्वका क्रममा निजी सम्पत्ति त्याग गरेको छवि बनाएका दाहाल पछिल्लो समय आलिसान निवास, महँगा सवारीसाधन र विलासी जीवनशैलीसँग जोडिन थालेका छन्।
उनकी छोरी गंगा दाहाल सामाजिक सञ्जालमा ‘नेपोबेबी’ बहसका क्रममा महँगा ‘गुच्ची’ (Gucci) ब्याग बोकेको तस्बिरका कारण चर्चामा आएकी थिइन्। त्यसपछि ललितपुरस्थित उनको भनिएको घरमा आगलागी भएको घटना र त्यहाँबाट नगद तथा सुन भेटिएको चर्चा समेत सार्वजनिक भयो। तर, उक्त घर उनको नाममा रहेको प्रमाण भने हालसम्म फेला परेको छैन।
हाल गंगा दाहाल र उनका पति जीवन आचार्य माथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ले सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ। उनीहरूसँगै दाहाल परिवारसँग नजिक मानिने प्रकाश राय माथि पनि छानबिन सुरु भएको छ।
अनुसन्धानका क्रममा गंगा दाहालको नाममा चितवन र मोरङ जिल्लामा करिब २४ रोपनी जग्गा रहेको तथ्य खुलेको छ। ती जग्गा खरिद गर्दा प्रयोग गरिएको आर्थिक स्रोतको वैधता पुष्टि हुने आधार नदेखिएको अधिकारीहरू बताउँछन्। २०७८ मंसिर २० मा मोरङमा १४ कट्ठा र सोही वर्ष फागुन १८ मा थप २० कट्ठा जग्गा राजीनामामार्फत खरिद गरिएको देखिन्छ। २०८० चैत ९ मा चितवनको पटिहानी क्षेत्रमा पनि वकसपत्रमार्फत जग्गा प्राप्त भएको अभिलेख छ। परिवारले केही सम्पत्ति माइती र पैतृक स्रोतबाट आएको दाबी गरे पनि यति ठूलो परिमाणको सम्पत्तिको स्रोत स्पष्ट छैन।
जीवन आचार्यको सम्पत्ति विवरणले पनि उनको आर्थिक वृद्धिको गतिलाई लिएर प्रश्न उठाएको छ। सानो व्यवसायबाट सार्वजनिक जीवनमा आएका आचार्यको सम्पत्ति विस्तार अपेक्षाभन्दा तीव्र देखिएको भन्दै त्यसको स्रोतबारे छानबिन भइरहेको छ। उनले कोशी प्रदेशमा मन्त्री रहँदा बुझाएको विवरणअनुसार ललितपुर, विराटनगर र मोरङमा घरजग्गा स्वामित्व देखाएका छन्। साथै, २० तोला सुन, ५० तोला चाँदी, ४५ लाख रुपैयाँ बैंक मौज्दात र करिब ८० लाख रुपैयाँ बराबरको शेयर लगानी उल्लेख गरेका छन्। यद्यपि, ती सम्पत्तिको स्रोत, कर विवरण र व्यवसायिक आम्दानीबारे स्पष्ट पारदर्शिता नदेखिएको आरोप छ।
आचार्यको नाममा दर्ता भएको ‘जेएमडी’ कम्पनी (२०७८ साउन १६) र गंगा दाहाल, जीवन आचार्य तथा प्रकाश रायको संलग्नता रहेको भनिएको ‘धनुश्री ट्रेडिङ’ कम्पनीमाथि समेत अनुसन्धान भइरहेको छ। उक्त कम्पनीको वास्तविक कारोबार र गतिविधि अस्पष्ट रहेको स्रोतहरूको दाबी छ।
यता प्रकाश रायको नाममा रहेको ‘स्किमा टेक्नोलोजी प्रा.लि.’ ले न्यून नाफा देखाए पनि उनको नाममा करोडौं मूल्यको सम्पत्ति रहेको तथ्य बाहिर आएको छ। उनको आय र सम्पत्ति बीच असन्तुलन देखिएको भन्दै अनुसन्धान भइरहेको छ। साथै, अवैध बिटक्वाइन कारोबार, मुद्दा मिलाउने प्रयास, र गोप्य सूचनाको दुरुपयोगजस्ता गम्भीर आरोपहरू पनि उनीमाथि लागिरहेका छन्।
समग्रमा, दाहाल परिवारसँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति, आय स्रोत र व्यावसायिक गतिविधिबारे उठेका प्रश्नहरूले अहिले राजनीतिक र प्रशासनिक वृत्तमा व्यापक चासो र बहस सिर्जना गरेको छ।




प्रतिक्रिया दिनुहोस्